पोखरा । कास्कीको पोखरा महानगरपालिका–५, पर्स्याङस्थित शान्ति निकेतन स्कुलले शैक्षिक सत्र २०८३ देखि नयाँ व्यवस्थापनसहित अत्याधुनिक सुविधायुक्त भवनबाट पठनपाठन सञ्चालन गर्ने घोषणा गरेको छ।
विद्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा संस्थापक प्राचार्य डा. महेश्वर पराजुलले नयाँ भवन, शैक्षिक विस्तार योजना तथा भावी कार्यक्रमबारे जानकारी दिएका हुन्। वि.सं. २०६२ सालमा स्थापना भएको विद्यालयले २० वर्षको शैक्षिक यात्रामा उल्लेखनीय उपलब्धि हासिल गर्दै कास्की जिल्लामा गुणस्तरीय शिक्षाको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएको दाबी गरिएको छ।
विद्यालयका अनुसार विभिन्न स्थानीय तथा राष्ट्रिय परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै आएको शान्ति निकेतनले एसइईमा समेत पटक–पटक उत्कृष्ट स्थान ल्याउनुका साथै ४ जिपिए प्राप्त गर्ने विद्यार्थी उत्पादन गर्न सफल भएको छ।
हाल पर्याङस्थित एकलधारामार्गमा सञ्चालन भइरहेको विद्यालयले अब बागलुङ राजमार्गबाट करिब १०० मिटर भित्र, धारापानीमार्गमा निर्माणाधीन नयाँ भवनबाट सेवा विस्तार गर्ने तयारी गरेको छ। करिब १५ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको उक्त भवन सम्पन्न हुने अन्तिम चरणमा रहेको जनाइएको छ।
नयाँ संरचनाअन्तर्गत मन्टेश्वरीदेखि कक्षा ३ सम्म पुरानो भवनमै स्तरोन्नतिसहित कक्षा सञ्चालन गरिनेछ भने कक्षा ४ देखि १२ सम्म नयाँ भवनमा पठनपाठन हुनेछ। साथै, २०८३ सालदेखि कक्षा ११ मा विज्ञान र व्यवस्थापन संकाय सञ्चालन गरिने विद्यालयले जनाएको छ।
विद्यालयमा अपाङ्गता मैत्री पूर्वाधार, लिफ्ट सुविधा, अण्डरग्राउण्ड पार्किङ, बास्केटबल कोर्ट, फुटसल, क्रिकेट अभ्यास नेट, आधुनिक क्यान्टीन, ३०० क्षमताको श्रव्य–दृश्य हल, आइसीटी ल्याब, विज्ञान प्रयोगशाला र डिजिटल पुस्तकालय लगायतका सुविधा रहनेछन्। स्मार्ट कक्षाकोठा र सूचना प्रविधिमा आधारित शिक्षण प्रणालीमार्फत शिक्षालाई थप प्रभावकारी बनाइने लक्ष्य लिइएको छ।
विद्यालयले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि खेलकुद, नेतृत्व विकास, नृत्य, कला, संगीत, नाटक, योगा, चाइनिज तथा संस्कृत भाषा शिक्षालाई प्राथमिकतामा राख्दै “डिजी स्कुल”का रूपमा विकास गर्ने योजना अघि सारेको छ। साथै, निकट भविष्यमा प्राविधिक धारअन्तर्गत स्नातक तहका कक्षा सञ्चालन गर्ने लक्ष्य समेत राखिएको छ।
विद्यालयले समावेशी र विद्यार्थी केन्द्रित शिक्षामा जोड दिँदै नैतिकता, संस्कार र मानवीय मूल्यहरूको विकासलाई पनि प्राथमिकतामा राख्ने जनाएको छ। विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्षम जनशक्ति उत्पादन गर्नु आफ्नो दीर्घकालीन उद्देश्य रहेको विद्यालय प्रशासनको भनाइ छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, मंसिर ७ पोखरामा बुधबारदेखि फेवा किङ्ग्स कप राष्ट्रिय आमन्त्रित पुरुष…







