कच्चा पदार्थको अभावले पोखरामा प्रशोधित खानेपानी उद्योगहरू सङ्कटमा


     एभरेस्ट आवाज    
     चैत्र १२ गते २०८२ मा प्रकाशित




कच्चा पदार्थको अभावले पोखरामा प्रशोधित पानी उत्पादनमा समस्या पैदा भएको छ ।

यसका कारण उद्योगहरुको उत्पादन ठप्प हुने स्थित उत्पन्न हुन लागेको बताइएको छ । प्रशोधित पानी उद्योग व्यवसायी संघ, कास्कीमा आवद्ध भएका व्यवसायीहरुको पूर्ण भेलाले मध्यपुर्वमा मा जारी युद्धको कारण पानी प्रशोधनका लागि चाहिने कच्चा पदार्थको अभाव र मूल्यवृद्धिका कारण खानेपानी उत्पादनमा समस्या उत्पन्न भएको निष्कर्ष निकालेको छ ।

संस्थाका अध्यक्ष प्रेम बहादुर क्षेत्रीको अध्यक्षता भएको भेलाले यस्तो असहज परिस्थितमा व्यवसायीहरूलाई संयमित रहन आग्रह समेत गरिएको छ । भेलामा पानी उद्योगीहरूले भोग्नुपरेका वर्तमान समस्या र आगामी कार्यदिशाका बारेमा गम्भीर छलफल भएको सचिव कविन्द्र कोइरालाले जानकारी दिए । वर्तमान जटिल परिस्थितिका कारण लामो समयसम्म उत्पादन कार्य कायम राख्न कठिनाई हुन सक्ने निष्कर्ष निकालेको छ। खानेपानी उद्योगमा प्रयोग हुने कच्चा पदार्थहरू जस्तै बिर्को, बोतल, जार ,सृन्क रोलआदि पेट्रोलियम पदार्थसँग प्रत्यक्ष सम्बन्धित रहने र तिनको आपूर्तिमा कमी तथा मूल्यवृद्धि भएकाले उत्पादन र प्रशोधनमा गम्भीर समस्या देखिएको छ ।

परिस्थिति जटिल बन्दै गएकाले सम्पूर्ण उद्योगीहरूलाई संयमता अपनाउन, आपसी मेलमिलाप र मैत्रीपूर्ण वातावरण कायम गर्न आग्रह गरिएको छ। राज्यले तोकेकै मूल्यमा रहेर सम्भव भएसम्म उत्पादन र वितरण कार्य जारी राख्ने र बजारमा खानेपानीको अभाव सिर्जना हुन नदिने सर्वसम्मत निर्णय र प्रतिवद्धता समेत जनाएका छन्। भेलाले आगामी दिनमा परिस्थितलाई मूल्याँकन गर्दै व्यवसायको प्रवर्धन र व्यवसायीको हितका लागि सरसल्लाह गर्दै अगाडी बढ्ने जानकारी गराएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।