श्रीमुक्तिनाथ रथयात्रा मुक्तिनाथबाट हिजो सुरु, आज पोखरा नगर परिक्रमा गरिने


     एभरेस्ट आवाज    
     कार्तिक ९ गते २०८३ मा प्रकाशित




पोखरा । वैदिक सनातन धर्मको संरक्षण, आध्यात्मिक चेतनाको विस्तार तथा राष्ट्रिय धार्मिक र सांस्कृतिक एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले ‘मेची–महाकाली राष्ट्रव्यापी श्रीमुक्तिनाथ रथयात्रा–२०८३’ सुरु भएको छ ।

कात्तिक ८ गते आइतबार मुक्तिनाथबाट सुरु भएको रथयात्रा जोमसोम र गलेश्वर हुँदै बेनीको कुन्डुलेफेदी पुगेर पहिलो दिनको रात्रि विश्राम गरेको थियो । रथयात्रा कात्तिक ३० गतेसम्म सञ्चालन हुनेछ ।

रथयात्राको दोस्रो दिन आज कात्तिक ९ गते सोमबार पञ्चकोटबाट सुरु भएको रथयात्रा बागलुङ बजार, मालढुङ्गा, कुश्मा, नौडाँडा, हेमजा हुदै बिन्दवासिनीमा बिश्राम गरि पोखरा नगर परिक्रमा गर्ने कार्यक्रम छ । त्यसपछि रामघाटस्थित श्रीमुक्तिनाथ सनातन सेवाश्रममा रात्रि विश्राम गरिनेछ ।

मुक्तिनाथपीठाधीश्वर स्वामी कमलनयनाचार्य श्रीजी महाराज (मुक्तिनाथ बाबा) को सत्सङ्कल्पअनुसार आयोजना हुँदै आएको रथयात्राले पूर्वदेखि पश्चिमसम्मका प्रमुख धार्मिकस्थल, मठमन्दिर, आश्रम तथा तीर्थधामलाई जोड्दै नेपाली समाजमा धार्मिक, सांस्कृतिक र राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्ने आयोजकले जनाएको छ ।

मुक्तिनाथ बाबाका उत्तराधिकारी स्वामी वासुदेव प्रपन्नाचार्यका अनुसार रथयात्राले नेपालको मुक्तिनाथ, पवित्र कालीगण्डकी र समग्र मुक्तिक्षेत्रको महिमा देशविदेशसम्म पुर्‍याउनुका साथै धार्मिक पर्यटन प्रवर्द्धन, तीर्थस्थलबीचको सम्बन्ध विस्तार, सनातन संस्कृतिको संरक्षण र आध्यात्मिक जागरणमा योगदान पुर्‍याउनेछ ।

विविधतायुक्त नेपाली समाजमा राष्ट्रिय एकता र सहकार्यको भावनालाई थप बलियो बनाउनु पनि रथयात्राको उद्देश्य रहेको उनले बताए ।

पोखराबाट काठमाडौँ हुँदै पूर्वी नेपालतर्फ

कात्तिक १० गते मंगलबार पोखराबाट सुरु हुने रथयात्रा दमौली, डुम्रे, मुग्लिन, धादिङ, थानकोट, कलङ्की, स्वयम्भू र बालाजु हुँदै चक्रपथमार्गबाट काठमाडौँको गोल्फुटारस्थित श्रीमुक्तिनाथ बाबा सेवाश्रम पुग्नेछ ।

कात्तिक ११ गते काठमाडौँ नगर परिक्रमा गरी भक्तपुरस्थित श्रीपञ्चमहालक्ष्मी मन्दिर र श्रीवनधाममा रात्रि विश्राम गर्ने कार्यक्रम छ ।

कात्तिक १२ गते भक्तपुरबाट साँगा, बनेपा, धुलिखेल, भकुण्डेबेँसी र खुर्कोट हुँदै सिन्धुली पुग्ने रथयात्रा कात्तिक १३ गते भीमान, कटारी, गाईघाट र बराहक्षेत्र हुँदै चतराधामस्थित श्रीमुक्तिनाथ मन्दिर पुग्नेछ ।

कात्तिक १४ गते चतराबाट धरान, इटहरी, विराटचोक, बेलबारी, लेटाङ, पथरी, उर्लाबारी र दमक हुँदै झापाको गौशालामा विश्राम गर्नेछ । कात्तिक १५ गते झापाका विभिन्न स्थान हुँदै बिर्तामोड, अर्जुनधारा, बुधबारे, चारआली, भद्रपुर र काँकडभिट्टा भएर माइधारस्थित श्रीयोगीराज कमलनयनाचार्य आश्रममा रात्रि विश्राम गरिनेछ ।

कात्तिक १६ गते माइधारबाट रङ्गेली हुँदै विराटनगर नगर परिक्रमा गरी पाञ्चालीस्थित श्रीलक्ष्मीनारायण मन्दिरमा विश्राम गर्ने कार्यक्रम छ । कात्तिक १७ गते विराटनगर, दुहबी, इटहरी र लहान हुँदै जनकपुरधाम पुग्ने रथयात्राले कात्तिक १८ गते जनकपुरधाम परिक्रमा गरी ढल्केवर, बडहरी, लालबन्दी, बर्दिवास, नवलपुर, हरिवन, चन्द्रनिगाहपुर, निजगढ र पथलैया हुँदै सिमरामा विश्राम गर्नेछ ।

मधेस हुँदै पश्चिम नेपालतर्फ

कात्तिक १९ गते सिमराबाट पथलैया र अमलेखगञ्ज हुँदै हेटौँडा नगर परिक्रमा गरी चिसापानीस्थित श्रीकस्तुरी रङ्गनाथ मन्दिरमा रात्रि विश्राम गर्ने कार्यतालिका छ ।

कात्तिक २० गते हेटौँडाबाट मनहरी, वसन्तपुर, भण्डारा, पर्सा र टाँडी हुँदै भरतपुर महानगरपालिका परिक्रमा गरी लङ्कुमा विश्राम गरिनेछ ।

कात्तिक २१ गते नारायणगढ, गैँडाकोट, भेडाबारी, फूलबास, रजहर, दलदले, प्रगतिनगर, कावासोती, डण्डा, चोरमारा, अरुणखोला, दुम्कीवास र बर्दघाट हुँदै श्रीलक्षेश्वर शिवालयमा रात्रि विश्राम गर्ने कार्यक्रम छ ।

कात्तिक २२ गते बर्दघाट, भुताहा, भूमही, सुनवल र बुटवल हुँदै रथयात्रा रुपन्देहीको रेसेन्डुपुरस्थित श्रीबालहंस साङ्वेद स्वर्गद्वारी आश्रम पुग्नेछ ।

कात्तिक २३ गते खरेन्द्रपुर, चन्द्रौटा, मालुवाङ, लमही र कोहलपुर हुँदै नेपालगञ्ज पुगेर रात्रि विश्राम गरिनेछ । कात्तिक २४ गते नेपालगञ्जबाट टीकापुर हुँदै लम्कीचुहा क्षेत्रमा विश्राम गर्ने र कात्तिक २५ गते पुनर्वास हुँदै महेन्द्रनगरस्थित श्रीराधाकृष्ण मन्दिर पुग्ने कार्यक्रम छ ।

कात्तिक २६ गते महेन्द्रनगरबाट भलारी र अत्तरियाको मार्ग हुँदै धनगढीस्थित श्रीलक्ष्मीनारायण मन्दिरमा रथयात्रा पुग्नेछ । कात्तिक २७ गते धनगढी, हसुलिया, राजापुर र गुलरिया हुँदै कोहलपुरस्थित श्रीरामजानकी मन्दिरमा रात्रि विश्राम गरिनेछ ।

कात्तिक २८ गते कोहलपुरबाट सुर्खेत हुँदै तुलसीपुरस्थित श्रीलक्ष्मीनारायण मन्दिरमा विश्राम गर्ने रथयात्रा कात्तिक २९ गते घोराही, लमही, गोरुसिङ्गे र तौलिहवा हुँदै भैरहवा पुग्नेछ ।

कात्तिक ३० गते त्रिवेणीधाममा समापन

रथयात्राको अन्तिम दिन कात्तिक ३० गते भैरहवा नगर परिक्रमा गरी परासी हुँदै नवलपरासीको त्रिवेणीधामस्थित श्रीगजेन्द्रमोक्ष दिव्यधाममा पुगेर यात्रा समापन गरिने कार्यक्रम छ ।

रथयात्रा समापनपछि श्रीगजेन्द्रमोक्ष दिव्यधाममा मङ्सिर १ गतेदेखि २९ गतेसम्म ‘श्रीगजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ–२०८३’ आयोजना हुने जनाइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।