कांग्रेसले गुमेको विश्वास फर्काउन घरदैलोमा जानुपर्छ: सभापति गगन थापा


     एभरेस्ट आवाज    
     कार्तिक ९ गते २०८३ मा प्रकाशित




नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले गुमाएको विश्वास पुनःस्थापित गर्न नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुग्नुपर्ने बताएका छन् ।

स्याङ्जाको पुतलीबजारमा आज आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा उनले मतभन्दा पनि कांग्रेसले विश्वास गुमाएको बताए । “कांग्रेसले गुमाएको मत होइन, विश्वास हो,” उनले भने, “विश्वास पुनःस्थापित भयो भने मत त्यसलाई पछ्याउँदै आफैँ आउँछ ।” सभापति थापाले पार्टीबाट टाढिएका मतदातासँग भेटेर उनीहरूका गुनासा सुन्न र बदलिएको कांग्रेसबारे बुझाउनुपर्नेमा जोड दिए ।

विगतमा पार्टीप्रति असन्तुष्टिका कारण टाढिएका मतदाताको विश्वास जित्न वडा तहदेखि केन्द्रसम्मका नेता तथा कार्यकर्ता एकजुट भएर लाग्नुपर्ने उनको भनाइ थियो । १५औँ महाधिवेशनपछि पार्टीभित्र परिवर्तन आएको उल्लेख गर्दै उनले त्यसबारे जनताको घरदैलोसम्म जानकारी पुर्‍याउन आगामी मङ्सिरमा तल्लो तहसम्म जागरण अभियान सञ्चालन गर्ने तयारी भइरहेको बताए ।

सभापति थापाले महाधिवेशनलाई पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाका रूपमा लिनुपर्ने बताउँदै जिम्मेवारी पाउने वा नपाउने विषयलाई हारजितका रूपमा बुझ्न नहुने उल्लेख गरे । पार्टीभित्र सबैको समान हैसियत रहेकाले एकताबद्ध भएर अघि बढ्नुपर्ने उनको भनाइ थियो । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।