खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा खुकुरी प्रहारबाट एउटै घरका चार जना गम्भीर घाइते भएका छन् ।
च्यास्मीटारस्थित जारबुङका ४३ वर्षीय नइन्द्रकुमार राईले ससुराली घर आहालेमा गएराति गरेको खुकुरी प्रहारबाट ४० वर्षीया श्रीमती अञ्जना राई, ६२ वर्षीया सासु सेवन्ता राई, २५ वर्षीया साली टेमिना राई र सालो नरेन्द्र राई घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार घाइते चारैजनाको हलेसी तुवाचुङ नगर आधारभूत अस्पताल दुर्छिममा उपचार भइरहेको छ ।
“घाइतेहरुमध्ये तीन जना९अञ्जना राई, सेवन्ता राई र टेमिना राईको अवस्था गम्भीर छ । उनीहरुलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाउने तयारी भइरहेको छ”, प्रहरी निरीक्षक बस्नेतले भने, “आरोपित नइन्द्रकुमार राईलाई गएराति नै नियन्त्रणमा लिएका छौँ । घटनाको विषयमा थप विवरण आउन बाँकी छ ।” खुकुरी प्रहारका घटनामा श्रीमती अञ्जना, सासु सेवन्ता र साली टेमिनाको टाउकोको पछाडिपट्टी र हात तथा सालो नरेन्द्रको दाहिने हातमा गहिरो चोट लागेको उपचारमा संलग्न स्वास्थ्यकर्मीले जानकारी दिए । घाइतेमध्ये सालो नरेन्द्रको अवस्था सामान्य रहेता पनि पीडकले सबैको सामूहिक हत्या गर्ने उद्देश्यले खुकुरी प्रहार गरेको पीडित परिवारको आरोप छ ।
रातको समयमा अन्दाधुन्द भएको खुकुरी प्रहारका घटनाको बारेमा करिब १५ मिनेटपछि प्रहरी चौकी च्यास्मीटारले खबर पाएलगत्तै घटनास्थल पुग्दा आरोपित नइन्द्रकुमार फरार भएकोमा खोजतलास गरेर उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घरभित्र सुतिरहेको अवस्थामा मरनासन्न हुनेगरी अन्दाधुन्द खुकुरी प्रहार भएपछि रातभर गाउँ नै तनावग्रस्त भएको स्थानीयले बताएका छन् । पीडक राई नेपाली सेनामा कार्यरत रहेको र दसैँ मनाउन घर आएको अवस्थामा घटना भएको जनाइएको छ । श्रीमतीसँग घरायसी सामान्य विवादपछि अन्दाधुन्ध खुकुरी प्रहार गरेको स्थानीयले बताएका छन् ।
उक्त घटनाको अनुसन्धान गर्न टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा खुकुरी प्रहारबाट एउटै घरका चार जना गम्भीर…







