पोखरेली पत्रकारहरुले गरे बालमैत्री सञ्चार अभ्यास गर्ने प्रतिबद्दता


     एभरेस्ट आवाज    
     चैत्र १२ गते २०८२ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, चैत १२

पोखरेली पत्रकारहरुले बालमैत्री सञ्चार अभ्यास गर्ने प्रतिबद्दता जनाएका छन् । राष्ट्रिय बाल अधिकार परिषद् र गण्डकी प्रदेशका सञ्चारकर्मीहरूबीच विहीबार भएको ‘बालमैत्री सञ्चार निर्देशिका कार्यान्वयन सम्बन्धमा प्रदेशस्तरीय अन्तक्र्रिया कार्यक्रम’ पश्चात बालमैत्री सञ्चार अभ्यास सम्बन्धी पोखरा प्रतिबद्दता पत्र–२०८२ सार्वजनिक गरिएको हो ।

पोखरेली पत्रकारहरुले बालबालिकाको सर्वोत्तम हित र सञ्चारमाध्यमको उत्तरदायित्वलाई गम्भीरतापूर्वक मनन गर्दै बालमैत्री सञ्चार अभ्यास गर्ने प्रतिबद्दता जनाए । प्रतिबद्दता पत्रमा बालबालिकाको गोपनीयता भंग हुने र उनीहरुको चरित्रमा आघात पर्ने वा आत्मसम्मानमा ठेस पुग्नेगरी सम्बन्धित बालबालिकाको नाम, ठेगाना र तस्बिर वा भिडियो प्रकाशन, प्रशारण नगर्ने, कानुनको विवादमा परेका (बाल–बिज्याइँ गरेका) वा यौन हिंसा तथा दुव्र्यवहारबाट प्रभावित बालबालिकालाई ‘अपराधी’ वा ‘पीडित’ को रूपमा लाञ्छित गर्ने शब्दावली प्रयोग नगर्ने, त्यस्ता घटनाको रिपोर्टिङ गर्दा उनीहरूको पहिचान गोप्य राख्दै बाल न्यायको सिद्दान्तमा आधारित रहेर उनीहरुलाई समाजमा पुनःस्थापना हुन सक्नेगरी समाचार प्रकाशन, प्रशारण गर्ने, बालबालिकासँग सम्बन्धित घटनाका बीभत्स, क्षतविक्षत वा त्रसित तस्बिर र भिडियो प्रकाशन÷प्रसारण नगर्ने तथा ‘भ्युज’ र ‘क्लिकबेट’ को व्यापार गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न प्रयास गर्ने उल्लेख छ ।

त्यस्तै, बालबालिकासँग अन्तर्वार्ता गर्दा वा तस्बिर प्रयोग गर्दा संरक्षक वा अभिभावकसँग अनुमति लिने तथा सो सामग्री पनि सार्वजनिक हितका लागि सकारात्मक सन्देश प्रवाह गर्ने अवस्थामा बाहेक प्रयोग नगर्ने, समाचार सामग्रीमा बालमैत्री भाषा प्रयोग गर्ने, ‘बाल अपराधी’, ‘बलात्कृत बालिका’ जस्ता नकारात्मक अर्थ दिने शब्दहरूको सट्टा ‘कानुनको विवादमा परेका बालबालिका’, र ‘यौन हिंसाबाट प्रभावित’ जस्ता सम्मानजनक शब्दावलीको प्रयोग गर्ने प्रतिबद्दता जनाइएको छ ।

यसैगरी, बालबालिकासँग सम्बन्धित समाचार सामग्री बनाउँदा बालबालिकाका समस्या, अधिकार हनन् र जोखिमका विषयलाई उजागर गर्नुका साथै उनीहरूका सिर्जना, सफलता, नवप्रवर्तन र बाल क्लबका सकारात्मक अभ्यासहरूलाई उच्च प्राथमिकता दिने र विज्ञापन सामग्री बनाउँदा बालबालिकाको स्वास्थ्य, मनोविज्ञान र सुरक्षामा प्रतिकूल असर पर्ने कुनै पनि सामग्री नबनाउने प्रतिबद्दतामा जनाइएको छ ।

नेपालमा बालसञ्चार निर्देशिका बनेको झण्डै एक दशक बित्न लाग्दासमेत कार्यान्वयन नभएपछि राष्ट्रिय बाल अधिकार परिषद् गण्डकीले कार्यान्वयनका लागि पहलकदमी लिएको परिषद प्रदेशका समन्वय अधिकृत बद्रीप्रसाद वाग्लेले बताए ।

कार्यक्रममा बोल्दै प्रेस काउन्सिल सदस्य केशवशरण लामिछानेले बालमैत्री सञ्चार अभ्यासमा बेवास्ता वा लापरवाहीहुँदा बेलाबेला उलंघनका घटना हुने गरेको बताए । काउन्सिलमा पनि यस्ता गुनासा र उजुरीहरु आउँछन्,उनले भने, ‘काउन्सिलको काम नियमन मात्र गर्ने हो, पत्रकारले उजुरी नआउनेगरी विश्वसनीय ढंगबाट गर्नु सबभन्दा राम्रो हो ।’

नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेलले बालमैत्री सञ्चार अभ्यासमा पोखरेली पत्रकार पहिलेदेखि नै सचेत रहेको बताए । उनले आगामी दिनमा पनि यसबारे सचेत रहन आग्रह गरे ।

प्रेस रजिष्ट्रारको कार्यालय गण्डकीका सुरेश रानाभाटले बालसञ्चार निर्देशिकाको परिचय र मुख्य प्रावधान, बाल संवेदनशील पत्रकारिता, पत्रकार आचारसंहिता र व्यवहारिक अभ्यास विषयमा सहजीकरण गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।