पोखराको सभागृह चोक नजिकै धारिलो हतियार प्रहार गरी एकल महिलाको हत्या गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका ५ जिरो किलोमिटर घर भई हाल वडा नम्बर १८ सेदी बस्दै आएकी सिर्जना केसी पौडेलको हत्यामा संलग्न भएको आरोपमा पर्वत कुश्माका २७ वर्षीय सन्तोष भन्ने शिशिर केसी र पोखराका ३२ वर्षीय कुशल परियारलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।गत बुधबार शिवालय चोक नजिकै सिर्जनालाई अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका थिए । पछाडिबाट भएको आक्रमणपछि गम्भीर घाइते भएकी उनको गण्डकी मेडिकल कलेज पोखरामा चिकित्सकले सोही दिन राति मृत घोषणा गरेका थिए ।
पक्राउ परेका शिशिर उनकै भाञ्जा भएको बुझिएको छ । घटनाको अनुसन्धानका क्रममा प्रहरीले अभियुक्त सन्तोषलाई रुपन्देहीको बुटवलस्थित मनकामना टोलबाट र कुशललाई पोखराबाटै पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका अनुसार यो हत्या पारिवारिक बेमेल र सम्पत्तिको विवादका कारण भएको देखिएको छ । प्रहरीले सोही घटनामा प्रयोग भएको ग २५ प ३०४४ नम्बरको स्कुटर मुस्ताङ चोकबाट बरामद गरेको छ भने हत्यामा प्रयोग गरिएको धारिलो हतियार खुँडा पोखरा १७ बिरौटास्थित तितेपानी जंगलबाट बरामद गरिएको छ ।
कास्की प्रहरीले अभियुक्तहरूमाथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ को ज्यान सम्बन्धी कसुर अन्तर्गत मुद्दा चलाउने प्रक्रिया अगाडि बढाइएको जानकारी दिएको छ । प्रहरीले घटनामा अन्य मतियार वा सहयोगीको संलग्नता भए नभएको बारेमा पनि सुक्ष्म रुपमा अनुसन्धान जारी रहेको बताएको छ ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


मानवसेवा आश्रम कास्की शाखाले हेम्जामा वैशाख १९ देखि २६ गतेसम्म “श्रीमद्भागवत सप्ताह…






