फेवा महोत्सवमा पर्यटकबिच दौड,क्यानडाका मिलरोइ प्रथम


     एभरेस्ट आवाज    
     चैत्र ३० गते २०८२ मा प्रकाशित




पोखरामा जारी २१ औं फेवा नव बर्ष महोत्सव २०८३ को दोश्रो दिन सोमबार लेकसाइडमा आयोजित पर्यटक दौड प्रतियोगितामा क्यानडाका दिरेक मिलरोइ प्रथम भएका छन् ।

यसैगरी स्पेनका अड्रिया फेरर द्वितीय भए भने अष्ट्रेलियाका लाइन्डनले तृतीय स्थान हासिल गरे । लेकसाइड स्थित होटल पिस प्लाजा अगाडिबाट सुरु भएको दौडमा खेलाडीहरु एक हजार आठ सय मिटर दुरीमा रहेको अम्बोटसम्म दौडिएका थिए । दौडमा भारतका आमिरलाई सान्त्वना पुरस्कार प्रदान गरियो ।यसैगरी महिलातर्फको छुट्टै मुल्यांकनमा अष्ट्रेलियाकी हान्ना प्रथम भइन् । नेदरल्याण्डकी इशाले द्वितीय स्थान हासिल गर्दा अष्ट्रेलियाकी स्टेफनी तृतीय भइन् । भारतकी शुभांगीले शान्त्वना स्थान हासिल गरिन् । रन फर फन नाम दिएर आयोजना गरिएको दौडमा खेलाडीले कति समयमा दौड पूरा गरे भन्ने गणना गरिएन । दौडमा विभिन्न देशका तीन दर्जन खेलाडीले भाग लिएका थिए ।

विजेता खेलाडीहरुले मायाको चिनो र प्रमाणपत्र पनि खेलाडीहरुले प्राप्त गरे । उनीहरुलाई महोत्सव एवं दौड आयोजक होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदी, प्रथम उपाध्यक्ष दिपक श्रेष्ठ, द्वितीय उपाध्यक्ष गणेशराज पहारी, कोषाध्यक्ष नेत्रप्रसाद पौडेल, सहकोषाध्यक्ष वैभव पौडेल, दौड संयोजक प्रतीकराज पहारी, सदस्य सरोज अधिकारी र अन्नपूर्ण केवलकारका दिनेश पौडेलले पुरस्कार प्रदान गरेका थिए । होटल संघ नेपालका केन्द्रिय सदस्य भरतराज पराजुलीले दौड सफल पार्न समन्वयकारी भूमिका खेलेका थिए ।

महोत्सवका प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, पोखरा महानगरपालिका र उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश रहेका छन् । महोत्सव बैशाख १ गते सम्म चल्ने छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।