क्व्होलासोथारको एक हजार २०० वर्ष पुरानो ऐतिहासिकता उजागर गरिँदै


     एभरेस्ट आवाज    
     वैशाख ५ गते २०८३ मा प्रकाशित




तमु समुदायको एक हजार २०० वर्ष अघिको इतिहास जोडिएको क्व्होलासोथारको ऐतिहासिकता उजागर गर्नका लागि तमुु समुदायले सक्रियता बढाएका छन् ।

ऐतिहासकस्थल भएर पनि यसको उजागर र प्रवर्द्धन हुन नसकेको भन्दै तमु समुदायसम्बद्ध सङ्घसंस्थाले चासो देखाएका हुन् । ऐतिहासिकताको उजागर गर्दै यसको संरक्षण, प्रचारप्रसार र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ विभिन्न प्रयासहरू भइरहेको अवस्थामा तमुु प्येल्हु सङ्घ युकेको टोलीले आइतबारदेखि पोखराबाट लमजुङको भुजुङ हुँदै त्यसतर्फको यात्रा तय गरेको सङ्घका अध्यक्ष डेमबहादुर गुरुङले जानकारी दिए। तमु जातिको पहिचान एवम् अस्तित्वसँग जोडिएको क्व्होलासोथारको महत्व र गरिमालाई अझै उचो बनाउने उद्देश्यसहित ५५ सदस्यीय टोली त्यसतर्फ जान लागेको उनले बताए ।

टोलीले स्थलगत भ्रमण पश्चात् त्यहाँको अवस्थाबारे चित्रण गर्दै तमु प्येल्हु सङ्घ केन्द्रीय समितिमा प्रतिवेदन प्रस्तुत गर्ने सङ्घ युकेका सचिव भेग गुरुङले जानकारी दिए । क्व्होलासोथारलाई पुर्खाहरूले क्होला सोँप्रे ट्होका नाममा पनि लिने गरेका बताउँदै उहाँले प्राचीन मौलिकताको उजागर गर्ने लक्ष्य राखिएको बताए । कास्की र लमजुङको सिमानामा रहेको क्होला सोँप्रे ट्हो तमु धर्मगुरुहरूले वाचन गर्ने गरेका बोँन धार्मिक ग्रन्थमा उल्लेख भएको जानकारी दिँदै सचिव गुरुङले सन् २००० मा क्याम्ब्रिज युनिभर्सिटी र पुरातत्व विभागद्वारा यसस्थलका बारेमा जानकारी लिन पहिलोपटक उत्खनन सुरु गरे पनि त्यसले अन्तिम रुप प्राप्त गर्न नसकेको बताए ।

क्व्होलासोथारको ऐतिहासिकता र महत्वलाई उजागर गर्नका लागि सुरु गरिने भ्रमणका क्रममा प्राप्त भएका जानकारी, विवरणलाई प्रतिवेदन बनाइ ती प्रतिवेदन एकिकृत गरी यस क्षेत्रको प्रवर्द्धन र विकासका लागि योजनासहित सरोकार भएका निकायहरूको ध्यानाकर्षण गराइने सङ्घका केन्द्रीय महासचिव हर्क गुरुङले बताए । सङ्घका केन्द्रीय अध्यक्ष ओमबहादुर गुुरुङले क्व्होलासोथारको संरक्षणसँगै प्रचारप्रसार र प्रवर्द्धन गर्न सकिएमा नेपालोै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने धारणा राखे ।

हालै तमु प्येल्हु सङ्घ हङकङको टोलीले उक्त क्षेत्रको स्थलगत अध्ययन तथा अवलोकन गरी फर्किसकेको छ । क्व्होलासोथार गाउँपालिकामा पर्यटकीय सम्भावना बोकेका, प्राकृतिक सुन्दरताले भरिएका क्षेत्र भएकाले यस क्षेत्रको पर्यटन प्रवर्द्धन गर्नु जरुरी रहेको सङ्घको भनाइ छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।