कास्की प्रहरीको १० घण्टे लामो ‘स्वीप अप्रेसन’ : १२२ जना पक्राउ


     एभरेस्ट आवाज    
     वैशाख १० गते २०८३ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, बैशाख १०

कास्की प्रहरीको ‘स्वीप अपरेसन’मा १ सय २२ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, कास्कीले हालै सञ्चालन गरेको १० घण्टा लामो ‘स्वीप अप्रेसन’मा कास्कीका विभिन्न क्षेत्रबाट उनीहरु पक्राउ परेका हुन् ।

कास्की प्रहरीले पछिल्लो समय लागूऔषध कारोबार, लागूऔषध सेवन र समाजमा अशान्ति फैलाउने गतिविधि नियन्त्रण गर्न ‘स्वीप अप्रेसन’ सञ्चालन गर्दै आएको छ । सोहि अभियान अन्तर्गत बुधबार बेलुका ९ बजेदेखि विहीबार आज विहान ६ बजेसम्म निरन्तर गरेको अप्रेसनका क्रममा विभिन्न २० बढी ठाउँबाट उनीहरुलाई नियन्त्रणमा लिइएको कास्की प्रहरीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिए ।

सूचना अधिकारी पाण्डेका अनुसार पोखरा वडा नम्बर–१, २, ३, ४ र ५, कसेरी, बागलुङ बसपार्क, भैरवटोल, महेन्द्रपुल, लभ्लीडाँडा र पस्र्याङबाट ९ जनालाई नियन्त्रणमा लिइएको छ । त्यस्तै, पर्यटकीय केन्द्र लेकसाईड, ड्यामसाईड र गैराको चौताराबाट ३५ जना तथा पोखरा ८ बगाले टोल, सभागृह चोक र शिवालय चोकबाट ६ जनालाई नियन्त्रणमा लिइएको पाण्डेले जानकारी दिए । यसैगरी, पृथ्वीचोक, रंगशाला, बुद्धचोक र हस्पिटलचोक एरियाबाट २० जना, पोखरा–११, १२ र १३ मा पर्ने तुलसीघाट, शितलादेवी, काँहुडाँडा र काँहुखोला एरियाबाट ८ जनालाई नियन्त्रणमा लिइएको उनले बताए । उनका अनुसार पोखरा–१४ र १५ का एयरपोर्ट, फुलवारी, खसीबजार र रामबजार एरियाबाट १५ जना, पोखरा–१६ को बाटुलेचौर र लामाचौरबाट २ जना, पोखरा–१८ को चिसापानी र मेथलाङबाट २ जना, पोखरा–२७ र २८ का दिपाङताल, रिठ्ठेपानी एरियाबाट ६ जना, पोखरा–२९ र ३० का भण्डारढीक, सैनिक बस्ती, पटनेरी र तावामुख एरियाबाट १२ जना, पोखरा–३२ राजाकोचौतारा र लामेआहाल डम्पिङ साईडबाट ३ जना, माछापुच्छ«े गाँउपालिकाका विभिन्न क्षेत्रबाट ३ जना र अन्नपुर्ण–१ नौडाँडाबाट १ जनालाई नियन्त्रणमा लिइएको छ ।

स्वीप अप्रेसनमा जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका कार्यालयसहितबाट गरेर १०० जना प्रहरी परिचालन गरिएको कास्की प्रहरीले जनाएको छ । सूचना अधिकारी तथा प्रहरी निरीक्षक पाण्डेले भने,‘समाजमा अशान्ति फैलाउने, टोले गुण्डाका रुपमा धम्की दिने, गुण्डागर्दी गर्ने, लागूऔषध बिक्री वितरण तथा सेवन गर्ने, मादक पदार्थ सेवन गरी हो–हल्ला गर्ने र रातीको समयमा शंकास्पद रुपमा हिँडडुल गर्नेहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं ।’ अनुसन्धानमा दोषी देखिए आवश्यक कानूनी प्रक्रियामार्फत कारवाही गरिने उनले बताए । पाण्डेले यो अभियान निरन्तर चलिरहनेसमेत बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।