कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ जारी, थप ६१ जना पक्राउ


     एभरेस्ट आवाज    
     वैशाख ११ गते २०८३ मा प्रकाशित




कास्की प्रहरीले ‘स्वीप अप्रेसन’लाई निरन्तरता दिएको छ ।

बुधबार राती १० घण्टा निरन्तर ‘स्वीप अप्रेसन’ गरी १ सय २२ जनालाई नियन्त्रणमा लिएको प्रहरीले थप ६१ जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी कार्यालयले बिहीबार राति ९ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म सञ्चालन गरेको उक्त अप्रेसनका क्रममा पोखराका विभिन्न स्थानबाट ६१ जनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिए । उनका अनुसार पोखरा महानगरपालिका वडा नम्बर २ र ४ अन्तर्गतको मोहरियाटोल र गैह्रापाटन क्षेत्रबाट १४ जना, वडा नम्बर ६ को लेकसाइड र ड्यामसाइड क्षेत्रबाट सबैभन्दा धेरै २४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

वडा नम्बर ८ र ९ मा पर्ने बगालेटोल, सभागृह चोक, शिवालय चोक र पृथ्वीचोक क्षेत्रबाट ८ जना, वडा नम्बर १३ र १५ को काँहुडाँडा, काँहुखोला र रामबजार क्षेत्रबाट २ जना तथा वडा नम्बर १८ र २० को सराङकोट, लामागाउँ र भलाम क्षेत्रबाट ४ जनालाई नियन्त्रणमा लिइएको छ । त्यसैगरी वडा नम्बर २६, २७, २९ र ३० अन्तर्गतका सुन्दरबजार, रिठेपानी, सैनिक बस्ती, खुदीखोला र साहुको खोर क्षेत्रबाट ९ जना पक्राउ परेका छन् ।

प्रहरीले १० वैशाखमा पक्राउ परेका १२२ जनाको अवस्थाबारे पनि जानकारी सार्वजनिक गरेको छ । नियन्त्रणमा लिईएका मध्ये ८ जनालाई लागू औषधसम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ भने सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूरमा २७ जनामाथि म्याद थप गरी अनुसन्धान भइरहेको छ । बाँकीमध्ये १५ जनालाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट जरिवाना गरी छाडिएको छ भने ७० जनालाई सम्झाई–बुझाई गरी आफन्तको जिम्मा लगाएर छाडिएको छ । अन्य २ जनालाई भने हाल होल्डमा राखिएको प्रहरीको भनाइ छ ।

कास्की जिल्लामा लागू औषध बिक्री वितरण, समाजमा अशान्ति फैलाउने गतिविधि र गुण्डागर्दी नियन्त्रणका लागि प्रहरीले ‘स्वीप अप्रेसन’ संचालन गरेको जनाएको छ । प्रहरीले पोखरा महानगरपालिकाका विभिन्न वडा र टोलहरूमा विशेष निगरानी समेत बढाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।