सन्देश श्रेष्ठ
पोखरा, बैशाख ११
पोखराका दुई जना टोले गुण्डा पक्राउ परेका छन् । पोखरा–८ सिमलचौरका दुई जना टोले गुण्डालाई कास्की प्रहरीले नक्कली पेस्तोलसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा तनहुँ व्यास नगरपालिका वडा नम्बर–२ स्थायी घर भई हाल पोखरा–८ सिमलचौर बस्दै आएका ३२ वर्षिय सुवास कायस्थ र ३१ वर्षिय सुरज कायस्थ रहेको कास्की प्रहरीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिए ।
प्रहरीले उनीहरुको साथबाट २ थान नक्कली पेस्तोलसमेत बरामद गरेको छ । पक्राउ परेकाहरुको घरकोठा खानतलासी गर्दा नक्कली पेस्तोल एक थान, पेस्तोल कभर एक थान, नोक दुई थान र रडको स्लाईड स्टिक (लठ्ठी) एक थान बरामद भएको सूचना अधिकारी पाण्डेले जानकारी दिए ।
निजहरुले हतियार देखाई डरत्रास देखाएको भन्ने सूचनाका आधारमा वडा प्रहरी कार्यालय वैदामबाट गएको टोलीले उनीहरुलाई पक्राउ गरेको उनले बताए । ‘उनीहरुमाथि अनुसन्धान जारी छ’–उनले भने ।
त्यस्तै, कास्की प्रहरीले स्वीप अप्रेसन पनि जारी राखेको जनाएको छ । पछिल्लो पटक स्वीप अप्रेसनका क्रममा थप ६१ जनालाई पक्राउ गरेको सूचना अधिकारी पाण्डेले जानकारी दिए । विहीबार मात्र १० घण्टा लामो स्वीप अप्रेसनमा १६१ जनालाई पक्राउ गरेको कास्की प्रहरीले विहीबार राती ९ बजेदेखि शुक्रबार विहान ६ बजेसम्म गरेको ९ घण्टा लामो स्वीप अप्रेसनका क्रममा थप ६१ जनालाई पक्राउ गरेको उनले बताए ।
समाजमा अशान्ति फैलाउने, टोले गुण्डाका रुपमा धम्की दिने, गुण्डागर्दी गर्ने, लागूऔषध बिक्री वितरण तथा सेवन गर्ने, मादक पदार्थ सेवन गरी हो–हल्ला गर्ने र रातीको समयमा शंकास्पद रुपमा हिँडडुल गर्नेहरुबिरुद्द स्वीप अपे्रसन चलाएको कास्की प्रहरीले निरन्तर अभियान जारी राखेको छ । पछिल्लो पटक पोखरा–२ र ४ को मोहरियाटोल र गैह्रपाटनबाट १४ जना, पर्यटकीय केन्द्र पोखरा–६ लेकसाईड र पोखरा–१७ ड्यामसाईडबाट २४ जना, पोखरा–८ र ९ को बगालेटोल, सभागृहचोक, शिवालयचोक र पृथ्वीचोकबाट ८ जना, पोखरा–१३ र १५ का काहुँडाँडा, काहुँखोला, रामबजार एरियाबाट २ जना, पोखरा–१८ र २० का सराङकोट, लामागाउँ, भलाम एरियाबाट ४ जना, र पोखरा–२६, २७, २९ र ३० का सुन्दरबजार, रिठ्ठेपानी, सैनिकवस्ती, खुदीखोला र साहुको खोर एरियाबाट ९ जनालाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए ।
यसअघि पक्राउ गरिएकाहरुमध्ये केहिलाई अनुसन्धान पश्चात सामान्य गल्तीकमजोरी गरेकालाई सम्झाईबुझाई सुध्रिने शर्तसहित छाडिएको, कसैलाई जरिवाना गरेर छाडिएको तथा गम्भीर गल्तीकमजोरी गर्नेलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताबिरुद्दको कसुरमा अनुसन्धान जारी राखिएको पाण्डेले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको घार्मीमा रहेको महेन्द्र माविले नयाँ शैक्षिक सत्रका लागि योजना तर्जुमा गरेको…






