कालीगण्डकी नदीले बगाउँदा आज एक बालकको मृत्यु भएको छ ।
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–४ कागबेनी श्राद्धस्थल नजिक नदीले बगाउँदा आठ वर्षीय बालक बरुण गौलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ बस्ने ३२ वर्षीय विमला गौलीसहित १२ जनाको टोली आज कागबेनीमा श्राद्ध गर्न पुगेको थियो । उक्त स्थानमा दिवङ्गत पितृको नाममा श्राद्ध गर्ने क्रममा गौलीका आठ वर्षीय छोरा बरुण गौली अचानक नदीमा बेपत्ता भएका प्रहरीले जनाएको छ।
हराएका बालकको चप्पल कालीगण्डकी खोलाको छेउमा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कागबेनीबाट चार जना, जिल्ला प्रहरी कार्यालयबाट पाँच जना र सशस्त्र प्रहरी बल नेपाल ३३ गुल्म हेडक्वाटर जोमसोमबाट ११ जनाको टोलीले खोजी सुरु गरेको थियो । त्यस क्रममा श्राद्धस्थलदेखि एक किलोमिटर दक्षिण कालीगण्डकी नदी किनारामा बालक अचेत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ईश्वर महतले जानकारी दिए ।
निजलाई उपचारका लागि प्रदेश अस्पताल जोमसोम पठाइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाल दशनामी समाज महिला केन्द्रीय समितिको अधिवेशन बैशाख अन्तिम साता पोखरामा हुने…






