पोखरा रात्रिकालीन सडक दौडलाई ब्राण्डका रूपमा स्थापित गर्न सुझाव


     एभरेस्ट आवाज    
     वैशाख १२ गते २०८३ मा प्रकाशित




“जाग्छ पोखरा, दौडाउँछ पोखरा” मूल नाराका साथ पोखरामा गत चैत्र २८ गते आयोजना पोखरा रात्रिकालीन सडक दौड पोखरा नाइट स्ट्रिट रेस प्रतियोगिता २०८३ लाई पोखराको नयाँ ब्राण्डका रूपमा विकास गर्न सरोकारवालाहरूले जोड दिएका छन् ।

शनिबार आयोजित समीक्षा तथा शुभकामना एवं मैत्रिपूर्ण फुटबल कार्यक्रममा सहभागी वक्ताले प्रतियोगितालाई अझ व्यवस्थित, प्रभावकारी र अन्तर्राष्ट्रियस्तरको बनाउन सुझाव दिएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा महानगरपालिका वडा नं। ९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीले पत्रकारहरूलाई नयाँ र सिर्जनशील कार्यक्रम ल्याउन आग्रह गर्दै आफ्नो वडाको पहिचान झल्किने कुनै पनि कार्यक्रमलाई आवश्यक साथ र सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले पोखरा रात्रिकालीन सडक दौड नयाँ इभेन्ट भएकाले यसको निरन्तरताका लागि आगामी आर्थिक वर्षको बजेटमा पाँचलाख रुपैयाँ विनियोजन गरिने जानकारी दिए ।नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले सञ्चार गृहद्वारा इभेन्ट आयोजना गर्नु प्रशंसनीय कार्य भएको भन्दै यसको निरन्तरतामा जोड दिए ।

जिल्ला खेलकुद विकास समिति कास्कीका उपाध्यक्ष तिलक क्षत्रीले प्रतियोगिता पोखराका लागि नयाँ सम्भावनाको ढोका खोल्ने इभेन्ट भएको उल्लेख गर्दै आवश्यक सहयोग गर्ने बताए । पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले नयाँ इभेन्टलाई वार्षिक क्यालेन्डरमा समावेश गरी समयमै व्यापक प्रचारप्रसार गर्नुपर्ने सुझाव राखे । सहारा क्लब पोखराका अध्यक्ष केशवबहादुर थापाले पोखरा क्लिक र पोखरा प्रवद्र्धन केन्द्रसँगको सहकार्यमा आयोजना गरिएको मैत्रीपूर्ण फुटबल खेलले खेल पर्यटन प्रवद्र्धनमा टेवा पुगेको बताए । उनले सहारा एकेडेमीमा हाल १६ जिल्लाका ३० जना बालक रहेको र सूर्यबहादुर केसी स्मृतिमा वार्षिक १५ लाख रुपैयाँ केसी परिवारबाट सहयोग प्राप्त भइरहेको उल्लेख गरे ।सहारा क्लबका मानार्थ सदस्य महेश गुरुङले यस्तो महत्वपूर्ण इभेन्टबारे आफूहरूलाई जानकारी नहुनु दुःखद भएको बताउँदै यसलाई पोखराको “ड्रिम प्रोजेक्ट” का रूपमा अघि बढाउन आग्रह गरे ।

प्रतियोगिताका रेस डाइरेक्टर ओम गुरुङले सुरुआती चरणमा केही कमजोरी देखिए पनि आगामी दिनमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था, फोटो पत्रकार संघ कास्कीका अध्यक्ष राम गुरुङ, पत्रकार शिवराज बस्ताकोटी र रोजी श्रेष्ठ लगायतले समापन कार्यक्रम छरितो र ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । पोखरा प्रवद्र्धन केन्द्रका अध्यक्ष दीननाथ बरालले प्राप्त सुझावलाई मनन गर्दै आगामी संस्करणलाई अझ परिस्कृत र उत्कृष्ट बनाउने बताए । केन्द्रका उपाध्यक्ष असफल गौतमले रातिको समयमा पनि खेल गतिविधि सम्भव छ भन्ने सन्देश दिन र खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको स्पष्ट पारे । यसै अवसरमा पोखरा क्लिकद्वारा प्रकाशित नयाँ वर्षको भित्तेपात्रो समेत सार्वजनिक गरिएको छ ।

कार्यक्रमसँगै सहारा एकेडेमीको फुटबल मैदानमा शनिबार सम्पन्न मैत्रीपूर्ण फुटबल खेलमा सहारा क्लबले पोखरा क्लिकको टोलीलाई ४–६ गोल अन्तरले पराजित गर्दै जित हासिल गर्यो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।