नेपालका प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री एवं नेकपा एमालेका पूर्वअध्यक्ष मनमोहन अधिकारीको आज २७औँ स्मृति दिवस मनाइएको छ ।
मनमोहन स्मृति प्रतिष्ठानले आज ललितपुरको सानेपास्थित उनको शालिकमा माल्यार्पणसहित सभा आयोजना गरेको थियो ।कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष एवं एमालेका पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अधिकारीलाई अविचलित निष्ठाको प्रतीकका रूपमा चित्रण गरे । पोखरेलले उनको राजनीतिक संघर्ष र त्यागको स्मरण गरे । उनले प्रतिष्ठानलाई स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने दिवङ्गत व्यक्तित्वको स्मरण गर्दै प्रतिष्ठानका पूर्वसचिव हरिप्रसाद शर्मा काफ्ले, गोविन्द गजुरेल, डा गोविन्द थापा र लक्ष्मीदास मानन्धरको योगदानले नै मनमोहन अधिकारीको विचारलाई संस्थागत गर्न मद्दत पुगेको बताए ।
भारतमा रहँदा भारतीय स्वतन्त्रता संग्राममा सहभागी भई जेल जीवन बिताएका अधिकारीको दृढ मान्यता भएको बताउँदै उनले भारतबाट अंग्रेज शासन नहटेसम्म नेपालमा राणा शासनको अन्त्य सम्भव नहुने बताएको जिकिर गरे । नेपाल फर्केपछि पनि उनले कठोर बन्दी जीवन र यातना सहनुपरेको तर कहिल्यै सिद्धान्तसँग सम्झौता नगरेको पोखरेलले बताए । कार्यक्रममा एमाले नेता प्रदीपकुमार ज्ञवालीले पछिल्लो समय राजनीतिमा केही पुस्ताको नाममा अतिवादी सोच हाबी भएको बताउँदै परिपक्व नेतृत्वको मार्गदर्शन र युवा ऊर्जाको संयोजनबाट मात्र देश बन्ने बताए । उनले नेपालको कम्युनिष्ट आन्दोलनलाई इतिहासमा नै ठूलो धक्का लागेको धारणा राखे।निर्वाचनपछि बनेको सरकारका गतिविधिले देश बिस्तारै निर्वाचित सर्वसत्तावादतिर जाने हो कि भन्ने चिन्ता थपिएको ज्ञवालीको भनाइ छ ।
त्यस अवसरमा वक्ताहरूले पूर्वप्रधानमन्त्री अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता भएको भन्दै उनको योगदानको चर्चा गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, बैशाख १३ गण्डकीका निर्माण व्यवसायीहरुले निर्माण सामग्रीमा भएको मूल्य वृद्धिले…






