पोखरा महानगरपालिका तेक्वान्दो विकास समितिको साधारण सभा सम्पन्न

- वर्ष २०८३ लाई खेलाडी उत्पादन वर्षका रुपमा मनाऔं : जगन गुरुङ


     एभरेस्ट आवाज    
     वैशाख १३ गते २०८३ मा प्रकाशित




पोखरा, बैशाख १३

गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगनबहादुर गुरुङले २०८३ साललाई खेलाडी उत्पादनको वर्ष बनाउनुपर्ने बताएका छन् । पोखरा महानगरपालिका तेक्वान्दो विकास समितिको आईतबार आयोजित दोस्रो साधारणसभामा बोल्दै उनले यस्तो बताएका हुन् । गण्डकी प्रदेश खेलाडी उत्पादनमा कमजोर बनेकाले यस वर्षलाई खेलाडी उत्पादनको वर्ष बनाउनुपर्ने उनको भनाई थियो । प्रदेश तेक्वान्दो संघ मातहतका जिल्ला र महानगर समितिलाई सघाउन तयार छ,उनले भने,‘तपाईंहरु जिल्ला र महानगरबीच समन्वय गरेर खेलाडी उत्पादनमा लाग्नूस् ।’ उनले समितिहरुलाई विधानको अक्षरशः पालना गरेर काम गर्न आग्रह गरे ।

नेपाल तेक्वान्दो महासंघका सल्लाहकार हरिश्वर पोखरेलले खेल गुणस्तरमा ध्यान दिन आग्रह गरे । हिजो खेल प्रतियोगिता कम हुने भएकाले प्रतियोगिता आयोजनालाई ध्यान दियौं,उनले भने,‘तर अब खेल गुणस्तरमा ध्यान दिऔं । जसका लागि रेफ्रीको गुणस्तर, व्यवस्थापनको गुणस्तरमा ध्यान दिऔं ।’ यस खेलाडी उत्पादनमा मद्दत पुग्ने उनको भनाई छ ।

कास्की जिल्ला तेक्वान्दो संघका अध्यक्ष कुमार गुरुङले तेक्वान्दोको विकास र बिस्तारमा संघले भूमिका खेलिरहेको बताए ।

साधारण सभाले महानगर तेक्वान्दो विकास समितिका सचिव निरोजबहादुर नेपालीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्षले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको थियो । सो अवसरमा पोखरा महानगर तेक्वान्दो समितिले आर्थिक कोष सञ्चालन गरिरहेको र त्यसमा पदाधिकारीले रकम जम्मा गरेको जानकारी दिइयो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।