राष्ट्रपति रामचन्द्र पौडेलले भानु चुँदीरम्घालाई भाषा र साहित्यको त्रिवेणीका रुपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् ।
तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घामा आज भानु साहित्य उद्यानको शिलान्यासपछि राष्ट्रपति पौडेलले आदिकवि भानुभक्त आचार्यको योगदानले नेपाली भाषा र पहिचान निर्माणमा महत्वपूर्ण भूमिका खेलेको बताए । “भानुभक्तकै कारण हामी नेपालीको रुपमा परिचित भएका हौं,” राष्ट्रपति पौडेलले भने । राष्ट्रपतिले भाषा एकताको आधार भएको उल्लेख गर्दै भानुभक्तको जन्मभूमि चुँदीरम्घालाई नेपाली भाषा र साहित्यको त्रिवेणीका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याए । साथै, भानु साहित्य उद्यान निर्माणले यस क्षेत्रलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा समेत चिनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
राष्ट्रपति पौडेलले साहित्य उद्यानलाई राष्ट्रिय एकताको केन्द्र बनाउनुपर्ने धारणा राखे । लामो समयदेखि प्रयास सार्थक हुने चरणमा पुगेको बताउँदै उहॉले यसलाई सहयोग गर्न सबैलाई अपिल गरे । तनहुँ–२ का सांसद श्रीराम न्यौपानेले सुशासन र कानुनी आधार बलियो भएको उल्लेख गर्दै विकास तीव्रतर गतिमा अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको बताए । गण्डकी प्रदेश सरकारका अर्थमन्त्री जितबहादुर शेरचनले भानु साहित्य उद्यान साहित्यिक पर्यटनको केन्द्र बन्नेमा विश्वास व्यक्त गरे । स्वीकृत गुरुयोजनाअनुसार साहित्य उद्यानको पूर्ण निर्माणका लागि करिब रु एक अर्ब बजेट खर्च हुने अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा सङ्घीय सहरी विकास मन्त्रालयबाट रु २० करोड बजेट विनियोजन भइसकेको नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए ।
उक्त बजेटबाट शिखर कटेरीदेखि रम्घा डाँडासम्मको मोटरमार्ग स्तरोन्नति गरी कालोपत्रे सडक निर्माण गरिनेछ भने ५४ फिट उचाइको आदिकवि भानुभक्त आचार्यको विशाल प्रतिमा निर्माण गरिने उनले बताए । हालसम्म गुरुयोजना कार्यान्वयनका लागि करिब ४०० रोपनी जग्गा प्राप्त भइसकेको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सरकारले सशस्त्र प्रहरी बल, नेपालको महानिरीक्षक पदमा सशस्त्र अतिरिक्त प्रहरी महानिरीक्षक नारायणदत्त…






