पोखरा, वैशाख । युवाहरूको नेतृत्व विकास, सीप अभिवृद्धि र सामाजिक उत्तरदायित्व प्रवर्द्धन गर्ने उद्देश्यसहित क्रियाशिल पोखरा लेडी जेसीजले “सीप र सेवाः सफल व्यक्ति, सुदृढ समाज” भन्ने मूल मन्त्रकासाथ “जेसीज सप्ताह २०२६” आयोजना गर्ने भएको छ। कार्यक्रम २०८३ वैशाख २५ देखि ३१ गतेसम्म (मे ८–१४, २०२६) सञ्चालन हुने जनाइएको छ।
सार्वजनिक गरिएको तालिकाअनुसार वैशाख २५ गते शुक्रबार बिहान ८ बजे पोखरा महानगरपालिका वडा नं. ३ स्थित कन्या क्याम्पसको सभाहलमा उद्घाटन समारोहसँगै साइबर अपराध तथा बैंकिङ साक्षरता कार्यक्रम आयोजना गरिनेछ। उक्त कार्यक्रम विद्यार्थी (छात्रा) लक्षित हुनेछ र संयोजन जेसी सन्तोषी अर्यालले गर्नेछिन्।
वैशाख २६ गते शनिबार बिहान ८ बजे मादी गाउँपालिका वडा नं. ६ स्थित श्री महारूद्र माध्यमिक विद्यालयमा ग्रामीण क्षेत्रका बासिन्दालाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिनेछ। कार्यक्रमको संयोजन जेसी डा. नमिता अधिकारीले गर्नेछिन्।
यसैगरी वैशाख २७ गते आइतबार बिहान ११ बजे पोखरा महानगरपालिका वडा नं. २० मा संघ–संस्थाका पदाधिकारी लक्षित माइन्यूट लेखन तथा वित्तीय साक्षरता तालिम सञ्चालन गरिनेछ, जसको संयोजन जेसी अन्जना सुवेदीले गर्नेछिन्।
वैशाख २८ गते सोमबार बिहान ११ बजे वडा नं. १९ मा कृषक लक्षित कृषि स्वास्थ्य सचेतना तालिम तथा मल वितरण कार्यक्रम आयोजना गरिनेछ। उक्त कार्यक्रमको संयोजन जेसी सरिता भुजेलले गर्नेछिन्।
वैशाख २९ गते मंगलबार बिहान ११ बजे पोखरा महानगरपालिका वडा नं. ३० मा संघ–संस्थाका कोषाध्यक्ष र सचिव लक्षित विद्यालय पोषाक वितरण कार्यक्रम सञ्चालन गरिनेछ भने सोही दिन दिउँसो १ बजे लेखा व्यवस्थापन तथा उद्घोषण तालिम आर्थिक रूपमा कमजोर विद्यार्थीलाई लक्षित गर्दै आयोजना गरिनेछ। यी कार्यक्रमहरूको संयोजन क्रमशः जेसी शारदा लामिछाने र जेसी दुर्गा तिलिजाले गर्नेछन्।
वैशाख ३० गते बुधबार बिहान ११ बजे पोखरा महानगरपालिका वडा नं. २५ मा जनसमुदाय लक्षित प्रजनन स्वास्थ्य तथा बाँझोपनसम्बन्धी सचेतना एवं निःशुल्क शिविर सञ्चालन गरिनेछ। कार्यक्रमको संयोजन जेसी एलिसा भुजेलले गर्नेछिन्।
कार्यक्रमको समापन वैशाख ३१ गते बिहीबार दिउँसो ४ बजे लेकसाइडस्थित Busy Bee Resort मा सरोकारवालाको सहभागितामा सम्पन्न गरिनेछ। समापन कार्यक्रमको संयोजन जेसी सुभद्रा बरालले गर्नेछिन्।
कार्यक्रमहरू विद्यार्थी, ग्रामीण बासिन्दा, कृषक, संघ–संस्थाका पदाधिकारी, कोषाध्यक्ष तथा सचिव, आर्थिक रूपमा कमजोर विद्यार्थी र सर्वसाधारणलाई लक्षित गरी सञ्चालन गरिने जनाइएको छ। सप्ताह कार्यक्रमको संयोजन सन्तोषी अर्याल, डा. नमिता अधिकारी, अन्जना सुवेदी, सरिता भुजेल, शारदा लामिछाने, दुर्गा तिलिजा, एलिसा भुजेल र सुभद्रा बरालले गर्नेछन्।
मूल संयोजक विनिता के.सी.ले कार्यक्रमहरूले सीप विकास, स्वास्थ्य सचेतना, वित्तीय ज्ञान विस्तार र सामुदायिक सशक्तीकरणमा सकारात्मक प्रभाव पार्ने अपेक्षा व्यक्त गरिन्। अध्यक्ष सुनिता गौतम भण्डारीले सप्ताह कार्यक्रम सफल बनाउन सरोकारवाला निकाय र सर्वसाधारणको सक्रिय सहभागिता र सहयोग आवश्यक रहेको बताइन्। पोखरा लेडी जेसीजले सबैलाई कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ।
कार्यक्रममा उठेका जिज्ञासाहरुको अध्यक्ष भण्डारी मूल संयोजक बिनिता केसी, उपाध्यक्ष (सामाजिक) डा नमिता अधिकारी, कोषाध्यक्ष रेजिना कट्वाल छेत्री, महासचिब सिर्जना आले “ईसा” लगायतले प्रष्ट पारेका थिए ।
सन् १९८९ मा स्थापना भएको पोखरा लेडी जेसीज १८ देखि ४० वर्ष उमेर समूहका सक्रिय महिलाहरूको सशक्त संस्था हो। विधिको शासन र विश्व बन्धुत्वको भावना आत्मसात् गर्दै सदस्यहरूको व्यक्तित्व तथा नेतृत्व विकाससँगै समुदायमा प्रत्यक्ष योगदान पुर्याउँदै आएको संस्थाले यस वर्ष पनि सामुदायिक विकासलाई केन्द्रमा राख्दै विविध कार्यक्रम सञ्चालन गर्न लागेको पोखरा लेडी जेसीजले जनाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, वैशाख । युवाहरूको नेतृत्व विकास, सीप अभिवृद्धि र सामाजिक उत्तरदायित्व प्रवर्द्धन…






