मुस्ताङ: बर्खा लाग्यो, तर पनि हिउँ पर्न छाडेन


     एभरेस्ट आवाज    
     वैशाख २४ गते २०८३ मा प्रकाशित




हाल मुस्ताङ भ्रमण गर्ने सबैभन्दा अनकूल याम चलिरहेको छ । हिउँदयामको चिसो र हिउँ पर्ने समय टरिसकेकाले यस यामलाई मुस्ताङ भ्रमणको अनुकूल याम मानिन्छ ।

हाल हिउँदयाम सकिएर गर्मीयाम सुरु भइसके पनि यहाँ अझै हिउँ पर्ने क्रम भने रोकिएको छैन । बुधबार यहाँको वारागुङ मुक्तिक्षेत्रमा आंशिक हिउँ परेको छ, जसकारण यहाँ चिसो बढेको छ । मुक्तिनाथस्थित हाई अल्टिच्युड ट्रिटमेन्ट सेन्टरमा कार्यरत स्वास्थ्यकर्मी सरोज घर्तीले बुधबार मुक्तिनाथ क्षेत्रमा करिब एक घण्टाभन्दा बढी समयसम्म हिउँ परेको बताए । हिउँ परेसँगै आसपासका नाँगा डाँडाकाँडा फेरि हिउँले सेताम्मे भएको उनको भनाइ छ । गर्मीयाम सुरु भइसक्दा पनि मुक्तिनाथमा बेमौसमी हिमपातले दर्शनार्थी भक्तजनलाई मुक्तिनाथ यात्रामा असजह भएको स्वास्थ्यकर्मी घर्तीले उल्लेख गरे ।

मुक्तिनाथ क्षेत्रमा योसँगै यस वर्ष आठौँ पटक हिमपात भएको हो । यसलाई स्थानीय जानकारकर्ताले जलवायु परिवर्तनको प्रभावका रूपमा विश्लेषण गरेका छन् । वसन्त ऋतुको समयमा पालुवा पलाएर मौसम पनि गुल्जार हुने समयमा मौसम प्रतिकूल बन्नु र हिउँ पर्नु यहाँका लागि राम्रो नभएको वारागुङ मुक्तिक्षेत्र—१ का वडाध्यक्ष प्रमेश गुरुङले बताए । वारागुङ मुक्तिक्षेत्र–१ अन्तर्गत खिङ्गा, झारकोट, लुप्रा र पुराङ रानीपौवालगायत गाउँमा हिउँदयामको बिदाइ र बर्खायामलाई स्वागत गर्दै ‘धछ्याङ’ पर्व मनाइसकिएको छ । बेमौसमी हिमपातले अन्नबाली र विशेष गरी स्याउका फूलहरू नष्ट गर्ने चिन्ता बढेको वडाध्यक्ष गुरुङले उल्लेख गरे ।

यस वर्षको हिउँदयाममा यहाँ पटक पटक हिउँ परे पनि वैशाख महिनामा हिउँ पर्नु अनौठो भएको वारागुङ—१ का खिङ्गा गाउँका मुखिया ल्हाक्पाटसी गुरुङले उल्लेख गरे । हिउँदयाममा परेको हिउँ कृषकका लागि फाइदाजनक भए पनि बेमौसमी हिमपातले कृषि र पर्यटन क्षेत्रलाई असर पु¥याउने उनले बताए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।