रारा पोखरा स्पोर्टस् अवार्ड ! चार विधामा ३/३ जनाको नोमिनेसन सार्वजनिक


     एभरेस्ट आवाज    
     वैशाख २४ गते २०८३ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, बैशाख २४

रारा पोखरा स्पोर्टस अवार्ड–२०८२ को नोमिनेसन सार्वजनिक गरिएको छ । खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशले यहि बैशाख ३१ गते पोखरा ईभेन्ट सेन्टर बुलौंदी लेकसाईडमा आयोजना गर्ने रारा पोखरा स्पोर्टस अवार्ड–२०८२ को चार विधाका नोमिनेसन विहीबार सार्वजनिक गरिएको हो । मञ्चले विहीबार पोखरामा पत्रकार सम्मेलन गरी वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुष र महिला, उदीयमान वर्ष खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक विधाका नोमिनेसनमा पर्न सफल ३÷३ जना खेलाडीको नाम सार्वजनिक गरेको हो ।

रारा पोखरा स्पोर्टस अवार्ड–२०८२ अन्तर्गत वर्ष सर्वोत्कृष्ट पुरुष विधामा विज्ञान टि खत्री (जुडो), प्रदीप खड्का (टेनिस) र सञ्जु विक्रम शाह (भलिबल) नोमिनेसनमा परेका छन् ।

वर्ष सर्वोत्कृष्ट महिला खेलाडी विधामा मोनिका राना (आर्चरी), नारायणी भण्डारी (एथ्लेटिक्स) र मनिषा तामाङ (जुडो) नोमिनेसनमा परेका छन् ।

वर्ष उदीयमान खेलाडीमा अनुस्का अधिकारी (एथ्लेटिक्स), सचिन सुनार (तेक्वान्दो) र निभा राई (व्याडमिन्टन) नोमिनेसनमा परेका छन् ।

यसैगरी वर्ष उत्कृष्ट प्रशिक्षक विधामा कुमार अधिकारी (टेनिस), रेखमाया गुरुङ (तेक्वान्दो ) र सिद्धान्त अधिकारी (एथ्लेटिक्स) नोमिनेसनमा परेको आयोजक खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष मानबहादुर घर्ती (एमबी आस्था)ले जानकारी दिए ।

मञ्चले यस वर्ष उत्कृष्ट खेल संघको अवार्ड कास्की जिल्ला क्रिकेट संघलाई प्रदान गर्ने जनाएको छ । क्रिकेट संघले पछिल्लो क्रममा मैदान सुधारदेखि प्रतियोगिता आयोजना र खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान दिएको छ ।

मञ्चले वर्ष उत्कृष्ट खेल पत्रकार अवार्ड यस वर्ष दीननाथ बराललाई प्रदान गर्ने भएको छ । वर्षभरीमा खेल सम्बन्धि गरेको रिपोर्टिङलाई आधार बनाएर बराललाई अवार्ड प्रदान गर्ने निर्णय भएको मञ्चका महासचिव परशुराम शर्माले जानकारी दिए । विगत दुई दशक भन्दा अगाडिदेखि पत्रकारिता गर्दै आएका बराल मञ्च गण्डकीका पूर्व अध्यक्ष हुन् भने उनी रेडियो नेपाल, कारोबार दैनिक र पोखरा क्लिक डटकममा कार्यरत छन् ।

मञ्चले वार्षिक रुपमा आयोजना गर्ने पोखरा स्पोर्टस अवार्डमा यस वर्ष ९ विधामा अवार्ड प्रदान गर्ने मञ्चले जनाएको छ । लाईफटाईम अचिभमेन्ट अवार्ड र स्पेसल अवार्ड प्राप्त गर्ने व्यक्तिको नाम भने पछि सार्वजनिक गरिने मञ्चका बरिष्ठ उपाध्यक्ष राजाराम पौडेलले जानकारी दिए ।

मञ्चले सर्वोत्कृष्ट महिला र पुरुष विधा तथा वर्ष पपुलर अवार्ड बिजेता खेलाडीलाई एक÷एक थान स्कुटर प्रदान गर्ने जनाएको छ । त्यसबाहेक अन्य सबै विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै जनही ३५÷३५ हजार प्रदान गर्ने मञ्चका महासचिव शर्माले जानकारी दिए ।

हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा हुने अवार्डको सह–प्रायोजकमा गुरुङ गहना घर प्रालि र केल्मी नेपाल प्रालि रहेका छन् । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकासँगको सहकार्य तथा राष्ट्रिय खेलकुद परिषद (राखेप), गण्डकी खेलकुद परिषद (गखेप)सँगको सहकार्य हुने अवार्डको भोटिङ पार्टनरका रुपमा खल्ती डिजिटल वालेट रहेको महासचिव शर्माले बताए । अवार्डको तयारी तिव्र पारिएको उनले बताए । ‘अवार्डलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न तयारी तिव्र बनाइएको छ’–उनले भने ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।