चलचित्र पत्रकार संघ नेपाल कास्कीको आयोजनामा शनिबार कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ ल्वाङ गाउँमा भएको सिनेमा संवादमा ‘कन्टेन्ट क्रियटर भर्सेस नेपाली सिनेमा’ विषयमा केन्द्रित रहेर गहन छलफल गरिएको छ ।
संवादको अन्तिम सत्रका रुपमा भएको छलफलमा कन्टेन्ट क्रियटर इस्टु कार्की र महेश भण्डारीसँग चलचित्र पत्रकार सन्ध्या थापाले भलाकुसारी गरेकी थिइन् । छलफलको सुरुमै इस्टु कार्कीले सिनेमा र सामाजिक सञ्जालमा देखिने सामग्री (कन्टेन्ट) लाई फरक रुपमा हेर्न नहुने तर्क गरिन् । उनले भनीन्, ‘मुभी पनि आफैँमा एउटा कन्टेन्ट नै हो, यो अलि लामो हुन्छ भने अहिले हामीले सोसल मिडियामा देख्ने रिल्स्हरू छोटा हुन्छन् । कन्टेन्ट क्रिएसनले गाउँका प्रतिभा र पर्यटनलाई विकास गर्न ठूलो अवसर दिएको छ।’ कार्कीले भनीन्, ‘कि संघर्ष गरिरहेका थिएटर कलाकारहरूलाई यो क्षेत्रले स्वतन्त्र र आत्मविश्वासी बनाउन मद्दत गरेको छ ।’अर्का वक्ता महेश भण्डारीले कन्टेन्ट क्रिएसन सामाजिक सञ्जाल आउनु भन्दा पहिलेदेखि नै समाजमा अस्तित्वमा रहेको बताए । ‘जुन कुरा बिक्न सक्छ, सेयर हुन सक्छ र जसमा मनोरञ्जन वा सन्देश हुन्छ, त्यो नै कन्टेन्ट हो,’ भण्डारीले भने । उनले कन्टेन्ट क्रियटर आफैँमा लगानीकर्ता, लेखक र निर्देशक समेत हुने हुँदा यसको जिम्मेवारी ठूलो हुने उल्लेख गरे । उनले पूर्वराजा ज्ञानेन्द्र शाह वा राजनीतिज्ञ केपी शर्मा ओलीका कतिपय भिडियोहरू जनतासँग जोडिने भएकाले नै भाइरल हुने गरेको उदाहरण दिए ।
पछिल्लो समय कन्टेन्ट क्रियटरहरूलाई सिनेमामा लिने लहर चलिरहेको सन्दर्भमा इस्टु कार्कीले आफू पैसाका लागि मात्र फिल्म नगर्ने स्पष्ट पारिन् । उनले आफ्नो अडान राख्दै भनीन्, ‘मेरो लागि मुभी एउटा सपना र प्यासन हो । म फिल्ममा यस्तो पात्र निभाउन चाहन्छु जसले समाजमा केही परिवर्तन ल्याउन सकोस् र मेरो अभिनय यात्रामा प्रभाव छोडोस्। अनुभवका लागि मात्र वा पैसाका लागि मात्र म जस्तो पायो त्यस्तो फिल्म खेल्दिनँ ।’ कार्कीले सामाजिक सञ्जालमा सफल हुन नियमित पोष्ट गर्नुभन्दा पनि गुणस्तरीय सामग्री हुनुपर्नेमा जोड दिइन् । यता महेश भण्डारीले भने कलाकारितामा प्यासनसँगै पैसा पनि महत्वपूर्ण हुने यथार्थलाई स्वीकार्नुपर्ने बताए । उनले भने, ‘प्यासनले मात्र फिल्म वा कन्टेन्ट बनाउने हो भने धेरै कलाकारहरू विदेशिनुपर्ने वा क्षेत्र नै छोड्नुपर्ने अवस्था आउन सक्छ। प्यासनसँगै पैसाको हिसाब–किताब पनि एउटा कारण हुनुपर्छ, तब मात्र उद्योग अगाडि बढ्छ।’ भण्डारीले फिल्ममेकरहरूले फिल्म बनाउँदा वा छायांकन गर्दा नै पत्रकार र कन्टेन्ट क्रियटरहरूलाई सहभागी गराउन सके त्यसले फिल्मको मार्केटिङ र गुणस्तरमा ठूलो सहयोग पुग्ने सुझाव समेत दिए ।
पत्रकार सन्ध्या थापाले बिट मार्दै कन्टेन्ट क्रियटरहरूले समाज र राजनीतिमा दिने धारणाले पनि ठूलो प्रभाव पार्ने उल्लेख गरिन् । छलफलले नेपाली सिनेमा र डिजिटल कन्टेन्ट क्रियटरहरू एकअर्काका परिपूरक रहेको र उनीहरूबीचको सहकार्यले नेपाली मनोरञ्जन क्षेत्रलाई अझै उचाइमा पु¥याउने निष्कर्ष निकालेको थियो । कार्यक्रममा सहभागीहरुले कन्टेन्ट क्रियटरहरूको सामाजिक उत्तरदायित्व र आचारसंहिताका बारेमा पनि चासो व्यक्त गरेका थिए । कन्टेन्ट पहिले देखि नै तयार हुने विषय उठान गर्दै अहिले यसको माध्यम मात्र फरक भएको उनीहरुको तर्क थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


१२ असार, पोखरा पोखरा क्रिकेट एकेडेमीको आयोजना तथा किडासा फाउण्डेशन र एमसिसीको…






