विश्वमा महिला सुरक्षाको दृष्टिले नेपाल १२० औं स्थानमा


     एभरेस्ट आवाज    
     वैशाख २८ गते २०८३ मा प्रकाशित




विश्वमा महिला सुरक्षाको दृष्टिकोणले नेपालको स्थान खस्किएको छ ।

रिपोर्टअनुसार नेपालको अवस्था युद्धग्रस्त देशहरूको तुलनामा धेरै राम्रो रहेता पनि चुनौतीहरू अझै कायम छन् ।हालै सार्वजनिक सूची अनुसार नेपाल १२०औँ स्थानमा छ । सन् २०२३ को तुलनामा नेपालको स्थान खस्किएको हो । नेपालको स्कोर ० दशमलव ६४४ बाट घटेर ० दशमलव ६३१ पुगेको बताइएको छ । अफगानिस्तान सबैभन्दा असुरक्षित देशको रुपमा रहेको छ । ‘वर्ल्ड पपुलेसन रिभ्यू’को रिपोर्टअनुसार सन् २०२१ मा तालिबान सत्तामा आएपछि अफगानिस्तान महिलाका लागि संसारकै सबैभन्दा असुरक्षित देश बनेको ‘पिस सेक्युरिटी इन्डेक्स’ सम्बन्धी हालैको तथ्यांकले देखाएको हो ।महिलाहरूका लागि सबैभन्दा खतरनाक देशहरूको सन् २०२६ को सूचीमा यमन दोस्रो स्थानमा छ ।

रिपोर्टमा युद्ध, राजनीतिक अस्थिरता तथा कट्टरपन्थी सामाजिक मान्यताका कारण धेरै देशहरूमा महिलाको जीवन अत्यधिक जोखिमपूर्ण बनेको उल्लेख छ । महिला सुरक्षा सूचकांकमा अफगानिस्तान ० दशमलव २७९ स्कोरसहित सबैभन्दा तल रहेको छ ।अफगानिस्तानमा सार्वजनिक जीवनमा महिलाको सहभागिता लगभग शून्य बराबर रहेको तथा उनीहरूमाथि कडा सामाजिक प्रतिबन्ध लगाइएको बताइएको छ । शिक्षा र रोजगारीजस्ता आधारभूत अधिकारहरू पनि स्थानीय नीतिमा निर्भर रहेका कारण महिलाको स्वायत्तता लगभग समाप्त भएको उल्लेख छ ।

सूचीमा दोस्रो स्थानमा यमन रहेको छ, जहाँ लामो समयदेखि जारी गृहयुद्धले स्वास्थ्य सेवा र पूर्वाधार ध्वस्त पारेको छ । त्यसपछि सेन्ट्रल अफ्रिकन रिपब्लिक र सिरिया रहेका छन् । सिरियामा वर्षौंदेखि जारी द्वन्द्वले महिलाहरूलाई विस्थापन तथा मनोवैज्ञानिक तनावतर्फ धकेलेको बताइएको छ । विज्ञहरूका अनुसार यो र्‍याकिङ तथ्यांक मात्र नभई ती लाखौँ महिलाहरूको वास्तविक संघर्षको चित्रण हो, जो हरेक दिन डर, विस्थापन र असुरक्षाबीच जीवन बिताइरहेका छन् ।

सुडान र दक्षिण सुडान जस्ता देशमा पनि राजनीतिक अस्थिरता तथा आर्थिक संकटले महिलाहरूको जीवनलाई चुनौतीपूर्ण बनाएको छ ।महिलाका लागि सबैभन्दा खतरनाक मानिने देशहरूको सूचीमा प्रायः द्वन्द्वग्रस्त क्षेत्र, कमजोर राज्य तथा सुरक्षा प्रणाली फितलो वा प्रभावहीन रहेका राष्ट्रहरू पर्ने गरेका छन् । अफगानिस्तान, यमन, सिरिया तथा धेरै अफ्रिकी देशहरू बारम्बार ‘महिला सुरक्षा सूचकांक’मा सबैभन्दा खराब अंक प्राप्त गर्ने देशहरूको सूचीमा पर्ने गरेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।