सन्देश श्रेष्ठ
पोखरा, जेठ ४
पोखराले रुकुमेली पाहुना आकर्षित गर्ने जमर्को गरेको छ । यसअघि पूर्वी, दक्षिण र पश्चिमी क्षेत्रका पर्यटकलाई आकर्षित गर्ने प्रयास गरिरहेको पोखराले पहिलो पटक रुकुमेलीलाई पोखरा घुम्न आउन निम्तो दिएर त्यहाँको पाहुना आकर्षित गर्ने जमर्को गरेको हो । पोखराले प्राय पूर्वी क्षेत्रहरु बीरगञ्ज, विराटनगर, काकडभिट्टा, ईलाम, चितवन तथा पश्चिमी क्षेत्रहरु भैरहवा, बुटवल, नेपालगञ्ज, धनगडी, सुर्खेतलगायतका ठाउम पुगेर पर्यटन प्रवद्र्धन गर्ने गरेको थियो ।
तर यसपटक भने पृथ्वी होटल व्यवसायी समिति पोखराको आयोजनामा मध्यपहाडी लोकमार्ग केन्द्रीत गन्तव्यहरुमा पुगेर पर्यटन प्रवद्र्धन गरिएको छ । नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालय र पोखरा महानगरपालिकाको सहकार्यमा मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने रुकुम पूर्व, रुकुम पश्चिम, बागलुङ र ढोरपाटन पुगेर त्यहाँका पर्यटक आकर्षित गर्ने प्रयास गरिएको पृथ्वी होटल व्यवसायी समिति पोखराका अध्यक्ष मोतीप्रसाद श्रेष्ठले बताए । ‘पोखरा जाऔं, प्रकृतिसँग रमाऔं’ भन्ने नारासहित निस्केका हामीले रुकुमेली जनतालाई पोखरा आउन निम्तो दिएर फर्कियौं,उनले भने,‘पोखरा आउने पर्यटक खोजीको क्रममा नया गन्तव्यमा पुगेका हौं ।’
अभियान अन्तर्गत बागलुङ बजार र पुर्वी रुुकुमको रुकुमकोट, पश्चिम रुकुमको मुसिकोटमा स्थानिय पर्यटन व्यवसायी तथा उद्योगी, व्यवसायीसँग अन्तरक्रियासमेत गरिएको उनले बताए । ‘त्यहाँ पर्यटनमा सहकार्य, गन्तव्य प्रवद्र्धन, सेवा गुणस्तर सुधार तथा दीगो पर्यटन विकासबारे छलफल भयो’–उनले भने ।
समितिका संस्थापक अध्यक्ष रिजन शेरचनले रुकुमेली पर्यटक पोखरामा भित्राउन सकिने सम्भावना देखिएको बताए । आन्तरिक पर्यटन नै हाम्रो लागि दीगो पर्यटन हो,उनले भने,‘त्यसमा रुकुम पूर्व, रुकुम पश्चिम पनि हाम्रो बजार हो । त्यसका लागि हामीले प्रयास गरेका हौं ।’
समितिका पूर्व अध्यक्ष कमलप्रसाद न्यौपानेले मध्यपहाडी लोकमार्गले बागलुङ र रुकुम पूर्वलाई जोडेपछि त्यहाँको पर्यटक भित्राउन सहज हुने देखिएको बताए । मध्यपहाडी लोकमार्गले नया रुकुम सम्भाव्य गन्तव्य बनेको छ,उनले भने,‘उहाँहरु पोखरा घुम्न आउन तयार हुनुहुन्छ, व्यापारिक सामान खरिदका लागि पनि पोखरा रुकुमका लागि सहज बन्नसक्छ ।’ रुकुमेली जनतालाई आकर्षित गरेर पोखरामा पर्यटकको आगमन बढाउने तथा आएका पर्यटकको बसाई लम्ब्याउने योजना अन्तर्गत पर्यटन प्रवद्र्धनका लागि आफूहरु त्यहाँ पुगेको उनको भनाई छ । पोखराको ताल, मनमोहक हिमश्रृंखला, प्राकृतिक सौन्दर्य तथा सांस्कृतिक सम्पदा देखेर को मोहित हुँदैनहोला र ?,उनले भने,‘यसका लागि रुकुमेलीलाई निम्तो दिएर पर्यटक आगमन बढाउने प्रयास हो ।’
नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेश प्रमुख मणीराज लामिछानेले पनि सडक सञ्जालले जोडेसँगै पोखरा रुकुमेली जनताका लागि अवसर बनेको बताए । रुकुमेली जनतालाई घुम्नका लागि निम्तो दिनमात्र यो अभियान सञ्चालन गरिएको होईन,उनले भने,‘निम्तोसँगै मध्यपहाडी लोकमार्ग सञ्चालनपछि गन्तव्यका रुपमा उदाएका सहरहरुसँग नेटवर्किङ बिस्तार गर्ने, पोखरा पर्यटनको राजधानी भएकाले त्यसको जानकारी दिने, दुई सहरबीच पर्यटक आदानप्रदान गर्ने र पोखराको पर्यटनबाट रुकुमेली जनतालाई सिक्ने अवसर प्रदान गर्ने पनि यसको उद्धेश्य हो ।’
छलफलमा रुकुमेलीले भने पर्यटक आदानप्रदानमा जोड दिएका थिए । अन्र्तक्रियामा बोल्दै रुकुम पश्चिमका जिल्ला समन्वय समिति उप–प्रमुख दीपेन्द्र विकले भने,‘पर्यटनको राजधानी पोखराबाट रुकुमले धेरै सिक्नुपर्नेछ । र पर्यटक आदानप्रदान गर्नसके दुबै सहरले लाभ लिनसक्नेछ ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा महानगरपालिकाले चीनको मितेरी सहर लिञ्जीबाट उपहारस्वरुप पाएका स्वास्थ्य सामग्री अन्ततः साढे…






