‘दशैं पर्यटन तथा सांस्कृतिक महोत्सव’ भोलि, तयारी पूरा


     एभरेस्ट आवाज    
     कार्तिक ७ गते २०८३ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, असोज ७

नेपालीको महान चाँड बडादशैंको सन्दर्भ पारेर पोखराको लेकसाईडमा भोलि ‘दशैं पर्यटन तथा सांस्कृतिक महोत्सव’ आयोजना हुँदैछ । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) को आयोजना, गृहलक्ष्मी ग्यासको प्रायोजन तथा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवद्र्धनमा पोखरा–६ लेकसाईडस्थित वाराही खेल मैदानमा भोलि आईतबार महोत्सव हुन लागेको हो । संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले भोलि आयोजित महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजक ओटेफले शनिबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।

बडादशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाको दिन पारेर आयोजना हुने महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्नेछन् । महोत्सवअघि लेकसाईडको खहरे चोकबाट झाँकीसहितको र्याली आयोजना गरिने भएको छ । जहाँ आयोजकसँगै पर्यटन सम्बद्ध संघसंस्थाहरु, स्थानिय संघसंस्था, क्लव, आमा समूह, जलारी समुदाय, पर्यटकहरुदेखि खेलाडीसम्म सहभागी हुने जनाइएको छ । खहरे चोकदेखि शुरु भएको झाँकीसहितको ¥याली सेन्टरप्वाईन्ट, वाराहीचोकहुँदै कार्यक्रम स्थल वाराही खेल मैदानमा पुगेर उद्घाटन कार्यक्रममा परिणत हुने ओटेफकी अध्यक्ष ममता न्यौपानेले जानकारी दिईन् ।

‘टीका, जमरा र चङ्गा चेटः पोखरामा पर्यटकसँग दशैँ भेट’ भन्ने मूल नाराका साथ हुने महोत्सवमा सहभागी पर्यटकलाई दशैंको टिका र जमरा लगाईदिने अध्यक्ष न्यौपानेले बतार्ईन् । ‘कार्यक्रममा पर्यटकसहित सम्पूर्ण सहभागीलाई टिका र जमरा लगाउँछौं र न्यानो आतिथ्यतासहित खानपान पनि गराउँछौं ।’

महोत्सवमा पर्यटकलाई बडादशैंको महत्वबारे जानकारी गराईने ओटेफकी संस्थापक अध्यक्ष जमुना पहारी पराजुलीले बताईन् । उनले भनिन्,‘महोत्सवमा चङरेली पिङ, रोटे पिङ, घुमाउने पिङ, विभिन्न जातजाति तथा समुदायका मौलिक सांस्कृतिक प्रस्तुति पनि महोत्सवमा आकर्षणका रुपमा रहनेछन् ।’

महोत्सवमा सांस्कृतिक विविधता, स्थानीय जीवनशैली, मौलिक खाना, कला, परम्परागत रोटेपिङसहित विविध कार्यक्रम गरिने ओटेफकी निवर्तमान अध्यक्ष तथा कार्यक्रम संयोजक उमा रेग्मी भण्डारीले जानकारी दिईन् । ‘हाम्रो मौलिक पर्व बडादशैंलाई पर्यटनसँग जोड्दै विदेशी तथा स्वदेशी पर्यटकलाई नेपाली मौलिक संस्कृतिको प्रत्यक्ष अनुभव गराउनु नै महोत्वको उद्धेश्य हो’–उनले भनिन् ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले संस्कृतिलाई पर्यटनसँग जोड्नु महोत्सवको सुखद पक्ष भएको बताए । उनले भने,‘यो महोत्सवले पर्यटकहरुलाई हाम्रा धर्म, संस्कृति, परम्परा र दशैंको महत्वबारे उजागर गर्छ र पर्यटकलाई आकर्षित गर्न मद्धत गर्छ ।’

महोत्सवलाई गृहलक्ष्मी ग्यासले प्रायोजन गरेको छ । साथै गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, पोखरा महानगरपालिका वडा नम्बर–६ सँगै नेपाल पर्यटन वोर्डलगायतले सहयोग गरेको महासचिव भावना रानाभाटले जानकारी दिईन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।