कुनैकुनै फिल्म पर्दामा सकिए पनि मनमा बाँकी रहन्छन्। पात्रहरूको बोलीमा आफ्नै गाउँको आवाज सुनिन्छ। उनीहरूको हाँसो, जिद्दी र मौनतामा चिनेका मानिसको अनुहार भेटिन्छ। ‘कबड्डी’देखि ‘कबड्डी ५’सम्मको यात्रा हेर्दा मलाई यस्तै अनुभूति हुन्छ। यसका पात्रहरूमा हामीले देखेको समाज र भोगेका सम्बन्धको धड्कन भेटिन्छ।
नेपाली सिनेमामा आफ्नै गाउँठाउँको कथा पस्किनु महत्त्वपूर्ण प्रयास हो। विदेशी फिल्मको प्रभाव र कथाको नक्कलबारे चर्चा भइरहँदा ‘कबड्डी’ले आफ्नै आँगनमा कथा खोजेको छ। सामान्य मानिसका साना चाहना, कमजोरी र सम्बन्धलाई पर्दामा ल्याएको छ। दैनिक जीवनमा सामान्य ठानेर छोडेका कुरा पनि कलात्मक प्रस्तुतिमा कति प्रिय लाग्दा रहेछन् भन्ने यसले अनुभव गराउँछ।
‘कबड्डि’, ‘जारी’, ‘गाउँ आएको बाटो’ र ‘पेन्सन पट्टा’ जस्ता फिल्मप्रति दर्शकको चासोमा यही आफ्नोपनको भूमिका देख्छु। कथा र प्रस्तुति फरक भए पनि तिनमा स्थानीय जीवनको सुवास भेटिन्छ। परिचित बोली, संस्कृति र पारिवारिक सम्बन्धले दर्शकलाई सम्झनाको बाटोतिर डोर्याउँछन्। हाम्रो समाजभित्र भन्न बाँकी अर्थपूर्ण कथा कति छन् भन्ने विश्वास यस्ता फिल्महरूले जगाउँछन्।
यस आत्मीय संसारको निर्माणमा रामबाबु गुरुङको लेखन र निर्देशनको महत्त्वपूर्ण योगदान छ। उनले गाउँको बाहिरी रूपसँगै मानिसको सोच, संकोच र व्यवहार पनि टिपेका छन्। साथीहरूको जिस्काइ, प्रेम व्यक्त गर्न नसक्दाको अप्ठ्यारो र परिवारभित्रको चासोमा समाजलाई नजिकबाट नियालेको दृष्टि भेटिन्छ। आफूले देख्दै आएको जीवन पर्दामा आउँदा पुरानो बाटोलाई केही परबाट हेरेजस्तो लाग्छ—परिचित, तर फेरि नियाल्न मन लाग्ने।
कलाकारहरूको छनोट सिरिजको अर्को बलियो पक्ष हो। ‘कबड्डि’की रिश्मा गुरुङदेखि ‘कबड्डि ५’की सृजना गुरुङसम्मका अनुहारहरू परिवेशसँग सहज रूपमा मिसिएका छन्। उनीहरू त्यही गाउँको बाटो हिँडेका र त्यही समाजमा हुर्किएका मानिसजस्ता लाग्छन्। संवाद, पहिरन र हाउभाउको स्वाभाविक मेलले दर्शकलाई पात्रसँग नजिक बनाउँछ।
रङ्गमञ्चबाट आएका कलाकारहरूको उपस्थितिले अभिनयलाई थप जीवन्त बनाएको छ। एउटा हेराइ, छोटो प्रतिक्रिया वा संवादबीचको मौनताले पनि दृश्यमा स्वाद थप्छ। चाहे छोटो भूमिका नै किन नहोस्, पन्च सुब्बा गुरुङलगायत रङ्गमञ्चका माझिएका कलाकारहरूको अभिनयले फिल्मलाई अझै स्वादिलो बनाएको छ। कमलमणी नेपालको अभिनयले पनि दृश्यमा सहजता र आफ्नोपन थपेको छ। यस्ता कलाकारहरूको उपस्थितिले मुख्य पात्र वरिपरिको संसारलाई विश्वासिलो बनाउँछ।
माओत्से गुरुङको सहज अभिनय पनि उल्लेख गर्नुपर्ने पक्ष हो। काजीका बुबाको भूमिकामा पुष्कर गुरुङ र आमाको भूमिकामा कविता आलेको जीवन्त, स्वाभाविक अभिनयमा गाउँघरको परिचित न्यानोपन भेटिन्छ। उनीहरू पर्दामा देखिँदा आफ्नै घरको आँगनमा बुबाआमा बोलिरहेजस्तो लाग्छ। उनीहरूको प्रस्तुतिले काजीको पारिवारिक संसारलाई आत्मीय बनाएको छ।
सृजना गुरुङको पात्रका बुबाको भूमिकामा रिन्छेन मोक्तान र आमाको भूमिकामा प्रमिला राईको अभिनय पनि प्रशंसायोग्य छ। दुवैको संवाद र प्रतिक्रियामा परिचित अभिभावकको झल्को भेटिन्छ। सहायक भूमिकामा रहेर पनि उनीहरूले कथाको घरमा आत्मीयताको उज्यालो थपेका छन्।
मेरो दृष्टिमा ‘कबड्डि ५’को अर्को विशेष आकर्षण विपिन कार्कीको नौलो चरित्र हो। हरेक फिल्ममा फरक अभिनय शैली लिएर देखिने विपिन यहाँ पनि चाखलाग्दा छन्। बोली, हाउभाउ र प्रस्तुतिमार्फत उनले पात्रलाई छुट्टै रङ दिएका छन्। परिचित कथाको आँगनमा उनको प्रवेशले नयाँ स्वाद थपेको छ। मलाई उनको अभिनय भूमिकाअनुकूल र पात्रप्रति न्याय गर्ने किसिमको लाग्यो।
विवाहले मात्रै मानिसलाई जिम्मेवार बनाउँदैन। पुरानो प्रेमको छाया र वर्तमान सम्बन्धको दायित्वबीच उभिएको काजीलाई समय र परिस्थितिले जीवनसाथीको अर्थ सिकाउँदै लैजान्छन्। अनुभवको आँचमा बिस्तारै खारिँदै गएको उनको यात्रा नै ‘कबड्डि ५’को मन छुने पक्ष हो।
सुरुमा श्रीमतीलाई जीवनसाथीका रूपमा जिम्मेवारीपूर्वक स्वीकार गर्न नसकेका काजीको व्यवहारमा मानवीय कमजोरी देखिन्छ। उनी आफ्नै भावना र अलमलसँग जुधिरहेका छन्। पहिलो ‘कबड्डि’को काजी र अहिलेको काजीबीच वर्षहरूको दूरीसँगै सोच र व्यवहारको परिवर्तन पनि अनुभव गर्न सकिन्छ। प्रेमको चाहनासँग जिम्मेवारीको वजन जोडिँदा उनको चरित्रले भावनात्मक गहिराइ पाएको छ।
दयाहाङ राईको अभिनयले यो परिवर्तनलाई प्रभावकारी बनाएको छ। काजीको मन सधैँ संवादमा खुल्दैन। आँखाको अलमल, अनुहारको गम्भीरता र मौनताले पनि उनका भित्री कुरा सुनाउँछन्। सुरुमा हँसाउने र कहिलेकाहीँ जिद्दी लाग्ने पात्रलाई दर्शकले बिस्तारै थप गम्भीर रूपमा बुझ्न थाल्छ।
बिखे र छन्त्यालको भूमिकामा विजय बराल र बुद्धि तामाङले गाउँले मित्रताको न्यानोपन कायम राखेका छन्। उनीहरूको ठट्टा, जिस्काइ र साथले फिल्मलाई सहज लय दिन्छ। उनीहरू पर्दामा आउँदा कथाले चौतारोमा बसेर सुस्ताएजस्तो आत्मीयता पाउँछ। उनीहरूका सपना र सीमिततामा अवसर खोजिरहेका युवाको परिचित छाया पनि देखिन्छ। हाँसोको सतहमुनि जीवनको सानो चसक्क बाँकी रहन्छ।
कथा तन्किएको भन्ने टिप्पणीलाई पनि बेवास्ता गर्न मिल्दैन। परिचित पात्र र सम्बन्ध दोहोरिँदा केही दर्शकलाई उही बाटो फेरि हिँडेजस्तो लाग्न सक्छ। मेरो बुझाइमा भने पात्रहरूको बदलिँदो सोच र परिस्थितिले निरन्तरताको आधार दिएका छन्। समाजसँगै मानिसका सपना र जिम्मेवारी बदलिन्छन् भने उनीहरूको कथा पनि अघि बढ्न सक्छ। तर हरेक नयाँ भागले नयाँ अनुभूति दिनुपर्ने अपेक्षा रहन्छ।
मलाई खड्किएको पक्ष काजीको दाम्पत्य सम्बन्धको विकासलाई दिइएको ठाउँ हो। उनीहरूबीचको संवाद र आपसी बुझाइलाई केही थप विस्तार दिइएको भए भावनात्मक गहिराइ अझ बढ्थ्यो।
यस्ता मौलिक चलचित्रको सम्भावना नेपाली दर्शकसम्म मात्रै सीमित राख्नु हुँदैन। नेपाली माटोको सुवास चलचित्रमार्फत विश्वभरि फैलाउनु अबको समयको आवश्यकता पनि हो। हाम्रा गाउँका कथा, संस्कृतिका रङ र सम्बन्धका संवेदनाले सीमापारका दर्शकको मन पनि छुन सक्छन्। त्यसका लागि मौलिक स्वाद जोगाउँदै अन्य भाषामा गुणस्तरीय डबिङ र उपशीर्षकसहित अन्तर्राष्ट्रिय दर्शकमाझ पुग्ने योजनाबारे सम्बन्धित पक्षले सोच्दै जानु उचित हुन्छ।
यसले चलचित्रको बजार र आम्दानीको सम्भावना विस्तार गर्नुका साथै फरक देशका मानिसलाई नेपालको जीवन, संस्कृति र भूगोलसँग जोड्ने पुलको काम गर्न सक्छ। पर्दामा देखिएको कुनै गाउँले नेपाल घुम्ने रहर जगाउन सक्छ; कुनै पात्रको कथाले नेपाली समाजलाई बुझ्ने जिज्ञासा जन्माउन सक्छ। आफ्नै माटोबाट उठेको कथाले विश्वसँग संवाद गर्दा त्यसको लाभ चलचित्र उद्योगसँगै पर्यटन, सांस्कृतिक पहिचान र समग्र राष्ट्रसम्म फैलिन सक्छ।
‘कबड्डि ५’को शक्ति आफ्नै माटोसँगको सम्बन्धमा छ। रामबाबु गुरुङको लेखन र निर्देशन, परिवेश सुहाउँदो कलाकार छनोट र स्वाभाविक अभिनयले कथालाई आत्मीय बनाएका छन्। काजीको यात्राले प्रेमसँगै जिम्मेवारी बुझ्न सिकिरहेको मानिसको मन छाम्छ। फिल्म सकिएपछि पनि पात्रहरू सम्झनामा बसिरहन्छन्—आफ्नै गाउँको बाटोमा भेटेर छुट्टिएका मानिसजस्तै।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


कुनैकुनै फिल्म पर्दामा सकिए पनि मनमा बाँकी रहन्छन्। पात्रहरूको बोलीमा आफ्नै गाउँको…







