एनटिएचएमसीमा ५ दिने विशेष तालिम सुरु ,पोखराको पर्यटन समय सापेक्ष हुनुपर्छ: मेयर आचार्य


     एभरेस्ट आवाज    
     जेठ ४ गते २०८३ मा प्रकाशित




पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखराको पर्यटन क्षेत्रलाई समय सापेक्ष अनुरुप बनाउनु पर्नेमा जोड दिएका छन् ।

पोखरा छिनेडाँडामा रहेको होटल म्यानेजमेन्ट कलेजमा आयोजित होटल व्यवसायी तथा पर्यटन क्षेत्रका प्रतिनिधिहरूका लागि ‘पाँच दिने विशेष ‘ट्रेन द ट्रेनर’कार्यक्रमको उद्घाटन गर्दै मेयर आचार्यले यहाँको पर्यटनलाई केवल परम्परागत रूपमा मात्र नभई समयसापेक्ष र व्यावसायिक ढंगले अगाडि बढाउनुपर्नेमा जोड दिएका हुन् । उनले ले सैद्धान्तिक ज्ञानसँगसँगै व्यावहारिक ज्ञान र यहाँको भूगोल सुहाउँदो पर्यटनको विकास हुनुपर्ने बताए ।उनले यहाँको मौलिक हस्पिटालिटीलाई जोगाइराख्न सम्बद्ध सबै पक्षलाई आग्रह गरे । पोखरा तुलनात्मक रूपमा अन्य क्षेत्रभन्दा न्यानो आतिथ्यताका लागि चिनिने उल्लेख गर्दै उहाँले यो शाखलाई बचाइराख्नु होटल व्यवसायीहरूको मुख्य जिम्मेवारी रहेको स्मरण गराए । आचार्यले नेपालबाहिर विभिन्न देशमा होटल म्यानेजमेन्ट र पर्यटन क्षेत्रमा अध्ययन तथा काम गरिरहेका नेपाली जनशक्ति र पोखराकै कलेजहरूबाट उत्पादित जनशक्तिलाई पोखरामै टिकाइराख्ने वा फर्काउने वातावरण बनाउनुपर्ने धारणा राखे ।

पोखरामा हाल करिब ५० हजार बेड क्षमता पुगिसकेको अवस्थामा नयाँ वर्ष र केही विशेष सिजनमा मात्र नभई वर्षैभरि पर्यटक भित्र्याउने रणनीतिको आवश्यक रहेको उनले बताए । पर्यटन उद्योग कुनै निश्चित समय वा घण्टामा बाँधिएर नहुने भन्दै मेयर आचार्यले जुनसुकै परिस्थितिमा पनि तुरुन्त सेवा दिनका लागि पर्यटन व्यवसायीहरू सधैं तयार र अनुकूल हुनुपर्ने उनको भनाई थियो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका निर्देशक मणिराज लामिछानेले पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गरिसकिएको अवस्थामा अब यहाँका गतिविधिहरू पनि अन्य प्रदेशका लागि उदाहरणीय हुनुपर्ने बताए । तालिम आयोजना गरेकोमा स्वीस कन्ट्याक्ट र स्वीस हस्पिटालिटीप्रति आभार प्रकट गर्दै निर्देशक लामिछानेले आगामी दिनमा पर्यटन क्षेत्रमा जहाँ जहाँ कमि(कमजोरी वा समस्याहरू छन्, त्यहाँ पर्यटन बोर्डले व्यवसायीहरूसँग मिलेर सहकार्य गर्ने प्रतिबद्धता समेत जनाए ।

एनटिएचएमसीका अध्यक्ष अशोक पालिखेले पोखराको पर्यटन र हस्पिटालिटी क्षेत्रको गुणस्तर अभिवृद्धिका लागि दक्ष जनशक्ति उत्पादन गर्न कलेजमा ‘ट्रेन द ट्रेनर’ कार्यक्रमको सुरुवात गरिएको बताए । तालिमको उद्देश्य पर्यटन क्षेत्रका लागि ‘ट्रेनर’ हरू तयार पार्नु रहेको स्पष्ट पारे ।कार्यक्रममा प्रिन्सिपल प्रकाश रेग्मी, स्विस होटल म्यानेजमेन्ट एजुकेशन सिस्टमका मुख्य प्रशिक्षक जोर्डन, पोखरा पर्यटन परिषदका प्रथम उपाध्यक्ष हरि भुजेल, पोखरा होटल संघ नेपालका अध्यक्ष लक्ष्मण सुवेदी, सागर चापागाइँ, नवराज अधिकारी, समारोहमा पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनहर कडरिया, विनोद न्यौपाने, विष्णु कुमार मल्ल, यूनिकोम र होटल एसोसिएसनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।