पोखरा, जेठ ५
पोखराको अमरसिंहचोकमा वर्षौंदेखि उभिएका टिनका अस्थायी टहरा अन्ततः हटाइएका छन्। मंगलबार अमरसिंह नमूना माध्यमिक विद्यालयअगाडिका ५१ वटा व्यवसायिक टहरा हटाइएपछि क्षेत्र खुला देखिन थालेको छ। अमरसिंह नमूना माध्यमिक विद्यालय को खेलमैदानको दक्षिणपट्टि बनाइएका ती टहरामा लामो समयदेखि व्यवसाय सञ्चालन हुँदै आएको थियो। पृथ्वी राजमार्गसँगै जोडिएको उक्त क्षेत्र पोखरा भित्रिने मुख्य प्रवेशमार्ग मानिन्छ। विद्यालयले पटक–पटक आग्रह गरेपछि व्यवसायीले अन्ततः टहरा हटाएका हुन्।
यसअघि विद्यालयले १५ दिने सूचना जारी गर्दै संरचना खाली गर्न भनेको थियो। सूचना नमाने विद्यालय आफैंले हटाउने चेतावनी पनि दिएको थियो। मंगलबार भने व्यवसायीले पोखरा महानगरपालिकाको रोहवरमा आफैं टहरा भत्काएका हुन्। विद्यालयका प्रधानाध्यापक बलराम पोखरेल ले लामो समयको प्रयासपछि टहरा हटेको बताए। पोखराको मुख्य प्रवेशद्वारमै रहेका ती टहराले शहरको सौन्दर्य बिगारेको भन्दै लामो समयदेखि आलोचना हुँदै आएको थियो। टहरा हटेपछि अहिले उक्त क्षेत्र खुला र व्यवस्थित देखिन थालेको छ। धनराज आचार्य ले पनि टहरा हटाउने कार्यलाई सहरी सौन्दर्यीकरण अभियानसँग जोड्दै व्यवसायीले महानगरको अभियानमा साथ दिएको बताए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, जेठ ५ पोखराको अमरसिंहचोकमा वर्षौंदेखि उभिएका टिनका अस्थायी टहरा अन्ततः हटाइएका…






