पूर्व सहमती अनुसार गण्डकीमा साउनमा सरकार परिवर्तन गर्नुपर्नेछ । कांग्रेस–एमाले गठबन्धन बनेपछि गण्डकीमा पहिलो कार्यकाल वर्तमान सुरेन्द्रराज पाण्डे र दोस्रो कार्यकाल खगराज अधिकारी मुख्यमन्त्री बन्ने सहमती भएको थियो । सो सहमती अनुसार पाण्डे हाल मुख्यमन्त्री छन् भने आगामी साउनमा अधिकारी मुख्यमन्त्री बन्नुपर्ने हो ।
तर गण्डकीमा सो सहमती अनुसार सरकार फेरबदल हुने कुनै गुञ्जायस छैन । किनकी गण्डकीमा एमालेबाहेक पनि कांग्रेसले बहुमत पु¥याउनसक्ने अंकगणित छ । गण्डकी प्रदेश सभामा कांग्रेसको २८, एमालेको २२, नेकपाको ७, राप्रपाको २ र प्रलोपाको १ सांसद छन् । सो अनुसार एमालेले सहमती अनुसार सरकारको नेतृत्व मागेमा अन्य दललाई साझेदार बनाएर आफू नेतृत्वको सरकारलाई निरन्तरता दिने मुख्यमन्त्री पाण्डेको तयारी छ ।सरकार फेरबदलको डरले नै उनले केहि समय अघिमात्र मन्त्री परिषद पुनरगठन गरेका थिए । कांग्रेसको देउवा समूहका उनले गगन थापा नेतृत्वमा अएपछि गण्डकी सरकार फेरबदल गर्ने आशंकामा एकमहिना अगाडि आफूबाहेक सबै मन्त्री फेरबदल गरेका थिए । गगन पक्षलाई गुमराहमा राखेर मन्त्री परिषद पुनरगठन गर्दा एमालेलाई भने विश्वासमा लिएका थिए । थाहै नदिई मन्त्री परिषद पुनरगठन भएपछि कांग्रेस संस्थापनले असन्तुष्टि जनाएका थिए । उनले पछि तिनै असन्तुष्ट सांसदलाई संसदीय दल पदाधिकारी बनाएर चुप लगाएका थिए ।
तर फेरी केन्द्रमा सातै प्रदेशका सरकार फेरबदल गर्ने प्रयास शुरु भएपछि गण्डकी तरंगित बनेको छ । एमाले पूर्व सहमती अनुसार सरकारको नेतृत्व पाउने आशामा बसेको छ । तर कांग्रेस कुनै पनि हालतमा गण्डकीमा नेतृत्व हस्तान्तरण नगर्ने मूडमा छ । खास गरेर हालका मुख्यमन्त्री पाण्डे नेतृत्व हस्तान्तरण नगर्ने अडानमा छन् । एमालेबाहेक पनि बहुमत पुग्ने अंकगणितका कारण उनी टसमस गर्ने छाँटमा नरहेको मुख्यमन्त्री निकट स्रोतले बतायो । उहाँ यहि सरकारलाई निरन्तरता दिने पक्षमा हुनुहुन्छ,उनले भने,‘यसमा दायाँबायाँ हुन्छजस्तो मलाई लाग्दैन ।’एमाले सरकार परिवर्तनको पक्षमा भए पनि अंकगणितका कारण मौन बसेको छ । भुईंको टिप्दा पोल्टाको पोखिन्छ कि भनेझैं नेतृत्व माग्दा कतै सरकारबाटै बहिर्गमन पो हुने हो कि भन्ने भयमा एमाले छ । त्यसैले एमाले ‘तैँ चुप, मै चुप’ भएर बसेको एक सांसदले बताए । सरकार परिवर्तनबारे अनौपचारिक छलफल भए पनि औपचारिक रुपमा मुख खोल्ने पक्षमा नभएको बताउँदै उनले नाम नबताउने शर्तमा भने,‘सरकार परिवर्तनबारे माथिको सहमती, निर्णय वा आदेश कुरेर बसेका छौं ।’
एमाले सांसद गणेशमान गुरुङले भने सरकार परिवर्तनबारे छलफल भइरहेको बताए । गण्डकीमा हालका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र एमाले संसदीय दलका नेता खगराज अधिकारीले मिलेमतो गरेर बजेटको दुरुपयोग गरिरहेको आरोप लगाउँदै उनीहरुको विकल्प खोज्नेबारेमा छलफल भइरहेको उनको भनाई छ । केन्द्रमा छलफल भइरहेकाले यहाँ पनि सबैले कान ठाडो पारेर बसेका छन्,उनले भने,‘मौका मिल्ने वित्तिकै पाण्डे र अधिकारीको विकल्प खोजिन्छ । त्यसका लागि भित्रभित्रै तयारी गरिरहेका छौं ।’
कांग्रेस गण्डकी, संसदीय दलका सचेतक प्रकाश बरालले सामान्य छलफलबाहेक अन्य प्रक्रिया अगाडि नबढेको बताए । यहाँ औपचारिक छलफलसमेत नभएको बताउँदै उनले भने,‘माथिको सहमती कुर्नुबाहेक अर्को विकल्प छैन ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले भौतिक पूर्वधारमा ठूलो फड्को मारेको…







