सार्वजनिक जग्गामा बनेको संरचना हटाउने अभियान : नेकपा निकट मजदुर संगठनले भत्काउँदा एमाले, कांग्रेस निकट अन्यौलमा


     एभरेस्ट आवाज    
     जेठ ८ गते २०८३ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, जेठ ८

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) निकट मजदुर संगठनले सार्वजनिक जग्गामा बनेको आफ्नो संरचना भत्काएको छ । महानगरपालिकाले फिर्केखोला, पोखरा बसपार्कलगायतका क्षेत्रमा बनेका अतिक्रमित संरचना भत्काउन ताकेता गर्दै सार्वजनिक सूचना निकालेपछि नेकपा निकट अखिल नेपाल ट्रेड युनियन महासंघले पोखरा पृथ्वीचोकस्थित यातायात कार्यालयको अगाडि पट्टी रहेको आफ्नो संरचना डोजर लगाएर भत्काएको हो ।

पोखरा महानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण गर्ने भन्दै फिर्केखोला, पोखरा बसपार्कलगायतका क्षेत्रमा बनेका अतिक्रमित संरचना भत्काउन पहिलो पटक ३५ दिने सूचना निकालेको थियो । सूचनाको म्याद सकिन लाग्दा गत बुधबार महानगरले पुनः ७२ घण्टे अल्टिमेटमसहितको अर्को सूचना जारी गरेको छ । सो अल्टिमेटम आएपछि उक्त मजदुर संगठनले आफैले डोजर ल्याएर सभाहलसहितका अस्थायी संरचना भत्काएको छ । आफूहरुले सभाहल र केही अस्थायी संरचना भत्काएको महासंघ गण्डकीका अध्यक्ष रुद्र गौतमले जानकारी दिए । डेढ करोडमा बनेको अर्को कार्यालय भवन भने महानगरलाई नै हस्तान्तरण गर्ने उनले बताए । भने,‘त्यसमा कार्यालय भवन संचालन गर्न उपयुक्त हुन्छ । त्यसैले नभत्काई महानगरलाई नै शनिबार हस्तान्तरण गर्दैछौं ।’

२०६७ सालमा महासंघ गण्डकीले ४ रोपनी क्षेत्रफल ओगटेर भवन बनाएको थियो । नेकपा एमाले, नेपाली कांग्रेसलगायतका मजदुर संगठनले पोखरा उपत्यका नगर विकास समितिको जग्गा हडपेर कार्यालय भवन बनाएको देखेपछि माओवादीको रापताप भएको मौका पारेर सो मजदुर संगठनले पनि भवन बनाएको थियो । तर महानगरले सार्वजनिक जग्गा संरक्षण गर्ने अभियान शुरु गरेपछि सो संगठनले अन्य संगठन तथा संस्थाहरुले सार्वजनिक जग्गा हडपेर बनाएको संरचना भत्काउने शर्तमा आफूहरु आफैले भत्काएर त्यसको शुरुवात गर्ने पत्रकार सम्मेलन गरेर घोषणा गरेको थियो । सोहि घोषणा अनुसार आफूहरुले संरचना भत्काएको गौतमको भनाई छ । हामीले स्वघोषणा गरे अनुसार संरचना भत्काएर महानगरले सहयोग गरेका छौं,उनले भने,‘अब महानगरले अरुको पनि भत्काओस् ।’ सो संगठनले अन्य संगठन तथा संस्थाहरुको संरचना नभत्काए ठीक नहुने चेतावनी दिएको छ । अध्यक्ष गौतमले चेतावनी दिदै भने,‘हामीले पहिले पनि भनिसकेका छौं, हाम्रो भत्काएर सहयोग गर्दा पनि अरुको नभत्काउने हो भने त्यो स्वीकार्य हुँदैन, यदि त्यसो भएमा डोजर र डोजर चलाउने दुबै छन् । हामी आफै पनि चलाउँछौं ।’

नेकपा निकट मजदुर संगठनले भत्काए पनि एमाले र कांग्रेस निकट मजदुर संगठनले बनाएका संरचना यथावत छन् । एमाले निकट नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) कास्की र गण्डकी तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ३÷३ आनामा बनेको छुट्टाछुट्टै भवन छ । २०६० सालमा बनेको सो भवनमा दुई कार्यालय रहेका छन् । त्यस्तै, नेपाली कांग्रेस निकट नेपाल ट्रेड युनियन कंग्रेस (एनटियूसी)को पनि सुविधा सम्पन्न भवन छ । २०६४ सालमा बनेको सो भवनमा कार्यालय रहेको छ ।

यी मजदुर संगठनहरुले पनि त्यहाँ रहेका संरचना हटाउन तयार रहेको बताएका छन् । जिफण्ट गण्डकीका अध्यक्ष रुद्र खत्रीले आफूहरु कार्यालय सार्ने तयारीमा रहेको बताए । हामी भाडामा फ्ल्याट खोजिरहेका छौं,उनले भने,‘फ्ल्याट पाउने वित्तिकै सर्छौं र त्यहाँ रहेका सबै संरचना महानगरलाई हस्तान्तरण गर्छौं ।’

नेपाल ट्रेड युनियन कंग्रेस गण्डकी प्रदेश अध्यक्ष मुरारी शर्माले पोखरा महानगरपालिकाले समन्वय नगर्दा भवन छाड्न ढिलाई भएको बताए । हामी पनि भवन छाड्न तयार छौं,उनले भने,‘तर मेयर धनराज आचार्यले कुनै पहल र समन्वय नै नगरी सूचना मात्रै निकाल्दा समन्वय अभावले भवन छाड्न ढिलाई भएको हो । मेयर आचार्यले छलफल र समन्वय गर्ने वित्तिकै महानगरलाई तालाचाबी बुझाएर निस्कन्छौं ।’

यसबाहेक सो क्षेत्रमा सामुदायिक प्रहरी सेवा भवन, हिमाली सांस्कृतिक परिवारको कार्यालय भवन, सहारा क्लव पोखरालगायतका संघ,संस्थाहरुको पनि भवन छ । ती पनि हटाउन महानगरले सूचना जारी गरेको छ ।

महानगरले पोखरा बसपार्कमा रहेका भूमिहीन, सुकुम्बासी तथा फिर्केखोला क्षेत्रको ५ मिटर मापदण्डमा पर्ने संरचना यहि जेठ ८ गतेभित्र हटाउन भनेको छ । अन्यथा डोजर चलाउने महानगरले तयारी गरेको छ । सम्भवतः शनिबारबाटै डोजर चल्ने महानगर निकट स्रोतले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।