मालेपाटनमा ज्येष्ठ नागरिकका लागि मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने


     एभरेस्ट आवाज    
     जेठ ८ गते २०८३ मा प्रकाशित




पोखरा महानगरपालिका वडा नं.५ मा ज्येष्ठ नागरिकहरूलाई लक्षित गर्दै ‘ज्येष्ठ नागरिक वाकिङ फुटबल खेल तथा मैत्रीपूर्ण कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ ।

‘स्वस्थ शरीर, सक्रिय जीवन र भाइचारा हाम्रो अभियान’ भन्ने मूल नारासहित यहीजेठ ९ गते शनिबार मालेपाटनमा प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बताइएको छ । प्रतियोगिता पोखरा महानगरपालिका वडा नम्बर ५ को प्रवर्द्धन तथा ज्येष्ठ नागरिक मैत्रीपूर्ण फुटबल खेल समितिको आयोजनामा हुन लागेको हो । प्रतियोगिता संयोजक डा सरोज कोइरालाका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य ज्येष्ठ नागरिकहरूको सम्मान, स्वास्थ्य र सक्रिय जीवनशैलीलाई प्रवर्द्धन गर्नु रहेको छ । प्रतियोगितामा हिँडेर खेलिने फुटबललाई प्राथमिकता दिइनेछ भने दौडन, एकअर्कालाई ठक्कर दिन, धक्का दिन वा ट्याकल गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ ।

प्रतियोगितामा ठूलो मैदान र धेरै खेलाडी सहभागी गराइने जनाइएको छ। आयोजकले स्वास्थ्य, मित्रता, सम्मान र आनन्दलाई प्रतियोगिताको मुख्य प्राथमिकतामा राखिएको डा कोइरालाले बताए । प्रतियोगिताले ज्येष्ठ नागरिकहरूको मन र शरीर स्वस्थ राख्न मद्दत पुग्ने, पुराना साथीभाइसँग पुनर्मिलन हुने तथा सामाजिक सम्बन्ध अझ प्रगाढ बन्ने विश्वास लिइएको छ । साथै ज्येष्ठ नागरिकलाई सुरक्षित रूपमा खेलकुदमा सक्रिय रहन उत्प्रेरणा मिल्ने प्रचारप्रसार संयोजक वसन्त गौतमले जानकारी दिए।

प्रतियोगितामा ७० वर्ष पूरा गरेका पोखरा(५ मा स्थायी वा अस्थायी रूपमा बसोबास गर्ने ज्येष्ठ नागरिकहरूले सहभागिता जनाउन पाउनेछन्। प्रतियोगिताका लागि हालसम्म ७० जनाको नाम दर्ता भएको अन्तर्राष्ट्रिय भलिबल खेलाडी एवं प्रतियोगिताका सल्लाहकार हरिप्रसाद पराजुलीले जानकारी दिए ।प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्नेलाई पुरस्कारको व्यवस्था गरिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।