पोखरा । पोखरा उपत्यका नगर विकास समितिले पोखरा बसपार्क क्षेत्रभित्र लालपुर्जा भएका जग्गाधनी तथा सटर कवल निर्माण गरी व्यवसाय सञ्चालन गरिरहेका व्यक्तिहरूलाई लक्षित गर्दै अत्यन्त जरुरी सूचना जारी गरेको छ ।
समितिद्वारा जारी सूचनाअनुसार पोखरा बसपार्क क्षेत्रभित्र पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको जग्गामा लालपुर्जा (जग्गाधनी प्रमाणपुर्जा) भएका सम्पूर्ण जग्गाधनीहरूले ७ दिनभित्र आवश्यक कागजात कार्यालयमा पेश गर्नुपर्ने भएको छ । पेश गर्नुपर्ने कागजातमा नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि, चालु आर्थिक वर्षको सम्पत्ति वा भूमिकर तिरेको रसिद तथा जग्गासँग सम्बन्धित अन्य प्रमाणित कागजातहरू समावेश छन् ।
त्यसैगरी पोखरा बसपार्क क्षेत्रअन्तर्गत पोखरा घरदेखि सेतिपुलसम्म, पृथ्वी राजमार्गदेखि दक्षिण तथा एयरपोर्टदेखि उत्तर क्षेत्रभित्र सटर कवल लगायतका संरचना निर्माण गरी व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरूलाई १५ दिनभित्र सम्पूर्ण संरचना हटाउन निर्देशन दिइएको छ ।
समितिले पोखरा बसपार्क निर्माणको प्रक्रिया सहजीकरण गर्न आग्रह गर्दै तोकिएको समयभित्र संरचना नहटाएमा नियमानुसार समितिले आफैं हटाउने जनाएको छ । साथै हटाउने क्रममा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट सरकारी बाँकीसरह असुलउपर गरिने चेतावनी समेत दिइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा–१,मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श स्कुलमा अङ्ग्रेजी भाषको स्कील टेष्ट कार्यक्रम सम्पन्न भएको…





