पोखरामा जेठ १२ देखि अन्तरविद्यालय वडाध्यक्ष कप फुटबल हुने


     एभरेस्ट आवाज    
     जेठ १० गते २०८३ मा प्रकाशित




पोखरा । खेलकुदको शहर पोखरामा विद्यालयस्तरीय फुटबल प्रतियोगिताको रौनक फेरि बढ्ने भएको छ । ड्यामसाइड क्लबको आयोजनामा पाँचौं अन्तरविद्यालय वडाध्यक्ष कप फुटबल प्रतियोगिता जेठ १२ गतेदेखि सुरु हुने भएको हो ।
पोखरा महानगरपालिका–१७ को प्रवर्द्धनमा जेठ १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिता गण्डकी प्रदेश प्रहरी गण (ड्यामसाइड) को खेलमैदानमा हुनेछ । प्रतियोगितामा वडा नम्बर १७ भित्रका १९ वटा सामुदायिक तथा संस्थागत विद्यालयको सहभागिता रहने आयोजकले जनाएको छ ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा क्लब अध्यक्ष रमेशप्रसाद बरालले विद्यालय तहबाटै खेलाडी उत्पादन गर्दै फुटबलको आधार बलियो बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । उनले प्रतियोगिताले नयाँ प्रतिभा पहिचान गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
प्रतियोगिताको विजेताले नगद ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले २० हजार, तेस्रो हुने टोलीले १० हजार तथा सान्त्वना टोलीले ५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।
प्रतियोगिता संयोजक विकास रानाभाटका अनुसार प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई ट्रफी प्रदान गरिनेछ । साथै सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर, गोलरक्षक र प्रशिक्षकलाई विशेष पुरस्कारको व्यवस्था गरिएको छ ।
वडा सदस्य तथा खेलकुद संयोजक विक्रम गुरुङले वडा स्तरमा एक सातासम्म फुटबलसँगै ब्याडमिन्टन, सडक दौड, बुद्धिचाल र हाजिरीजवाफ प्रतियोगिता समेत आयोजना गरिने जानकारी दिए ।
गत वर्षको उपाधि हिमालयन बोर्डिङ स्कुलले जितेको थियो । आयोजक ड्यामसाइड क्लबले २०५९ सालदेखि खेलकुद, पर्यटन तथा सामाजिक क्षेत्रमा निरन्तर गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ ।
महासचिव राकेश श्रेष्ठका अनुसार प्रतियोगिता सञ्चालनका लागि करिब ६ लाख ५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।