पोखरा । पोखरा महानगरपालिका वडा नं.–५ मालेपाटनमा सम्भवत: नेपालमै पहिलो पटक ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक पुरुषहरूबीच वाकिङ फुटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ । ज्येष्ठ नागरिक मैत्रीपूर्ण फुटबल खेल आयोजक समितिद्वारा आयोजित कार्यक्रमले खेलकुदसँगै सम्मान, स्वास्थ्य, पुनर्मिलन र सामाजिक प्रेरणाको सन्देश दिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागी अग्रजहरूले उमेरलाई चुनौती दिँदै उत्साह, आत्मविश्वास, अनुशासन र खेलभावनासहित उत्कृष्ट प्रदर्शन गरेका थिए । धेरै सहभागीहरू वर्षौंपछि आफ्ना पुराना साथीहरूसँग पुनर्मिलन भएको भन्दै भावुक बनेका थिए । आयोजकका अनुसार कार्यक्रमले “बुढो भइयो” भन्ने सोचलाई परिवर्तन गर्दै ज्येष्ठ नागरिकहरू अझै सक्रिय, सक्षम र प्रेरणाका स्रोत हुन् भन्ने सकारात्मक सन्देश प्रवाह गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा कर्णेल जे.पि. क्रस, संयोजकका रूपमा प्रा. डा. सरोज कोइराला, विशेष अतिथिका रूपमा पोखरा महानगरपालिका वडा नं.–५ का अध्यक्ष विष्णु प्रसाद बराल तथा कार्यक्रम सञ्चालकका रूपमा वसन्त राज गौतम सहभागी रहेका थिए ।
सम्पन्न प्रतियोगितामा ‘आँप समूह’ प्रथम भएको छ । विजेता टोलीलाई छाता, टोपी, गलबन्दी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । ‘वर समूह’ द्वितीय भएको थियो । उक्त टोलीलाई टोपी, गलबन्दी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा ७० जना ज्येष्ठ नागरिक सहभागी भएका थिए भने सबैलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
प्रतियोगितामा समूहहरूको नामकरण पञ्चबल्लवका आधारमा गरिएको थियो । विधागततर्फ सर्वाधिक गोलकर्ता दुर्गा भण्डारी, उत्कृष्ट खेलाडी हरि अधिकारी, उत्कृष्ट डिफेन्डर भवानी तिमिल्सिना, उत्कृष्ट गोलकिपर पदमनिधि कोइराला तथा उत्कृष्ट कोच सन्देश पराजुली घोषित भएका छन् । प्रतियोगिताका सबैभन्दा ज्येष्ठ खेलाडी ९२ वर्षीय होमनाथ बराल रहेका थिए ।
आयोजक समितिले यस्ता कार्यक्रमले ज्येष्ठ नागरिकप्रति सम्मान, सक्रिय जीवनशैली, स्वास्थ्य सचेतना तथा पुस्ताबीचको आत्मीय सम्बन्ध अझ मजबुत बनाउने विश्वास व्यक्त गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । अन्नपूर्ण गाउँपालिका–२ ढिकुरपोखरीस्थित माछापुच्छ्रे माध्यमिक विद्यालय तथा क्याम्पसमा आयोजित निःशुल्क…






