सन्देश श्रेष्ठ
पोखरा, जेठ १०
पोखराको फिर्केखोलाको मापदण्ड मिचेर बनाइएका संरचना भत्काउन शुरु गरिएको छ । पोखरा महानगरपालिकाले पोखराको फिर्केखोलाको मापदण्ड मिचेर बनाइएका संरचना ३ फरक ठाउँबाट भत्काउन शुरु गरेको हो । महानगरले आईतबार विहान पोखरा २ र १८ को सिमानामा पर्ने अँधेरीकुना, पोखरा ४ र ५ को सिमानामा पर्ने फिर्केपुल बुढानिलकण्ठ मन्दिर छेउ र पोखरा७ र ८ को सिमानामा पर्ने जिरोकिलोमिटरस्थित फिर्केखोला पुल छेउबाट फिर्केखोला अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन शुरु गरेको हो ।
पोखरा महानगरपालिकाले सो क्षेत्रमा अतिक्रमण गरेर बनाइएका मापदण्ड विपरितका संरचना भत्काउन पटक÷पटक ३५ दिने सूचना जारी गरेको थियो । पछिल्लो पटक दिइएको ७२ घण्टे अल्टिमेटम हिजो सकिएपछि आजदेखि महानगरले ३ फरक ठाउँबाट १० भन्दा बढी डोजर लगाएर अवैध संरचना भत्काउन शुरु गरेको महानगरले जनाएको छ । अवैध संरचना भत्काउने कार्यको औपचारिक शुरुवात भने पोखरा ७ र ८ मा पर्ने जिरोकिलोमिटरस्थित फिर्केखोला मिचेर बनाइएको लायन्स क्लवको भवन भत्काएर शुरु गरिएको थियो । सो भत्काउने कार्यको शुरु गर्न मेयर आचार्य स्वयम् उपस्थित भएका थिए ।
अवैध संरचना भत्काउने कार्यको शुरु गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरामा अतिक्रमित संरचना भत्काउने र सार्वजनिक सम्पतीको संरक्षण गर्ने अभियान शुरु भएको बताए । फिर्केखोलाबाट शुरु भएको यो अभियान पोखरा बसपार्कहुँदै पोखराका सबै क्षेत्रमा पुग्ने उनको भनाई छ । यो शुरुवात हो,उनले भने,‘अब यो निरन्तर अघि बढ्छ र सबै सार्वजनिक सम्पतीको संरक्षण गरिनेछ ।’
यसअघि पोखरा महानगरपालिकाले एक महिना लगाएर फिर्केखोलाको नापजाँच गरि प्रतिवेदन बनाएको थियो । सो प्रतिवेदन अनुसार फिर्केखोलामा मापदण्ड मिचेर १६० वटा संरचना निर्माण भएका छन् । जसमा ४५ वटा स्थायी र ११५ वटा अस्थायी प्रकृतिका संरचना निर्माण भएका छन् । जसमध्ये खोलामाथि १८ वटा स्थायी र १० वटा अस्थायी संरचना निर्माण भएको प्रतिवेदनमा उल्लेख छ । त्यसबाहेक खोलाको मापदण्ड मिचेर थप ३५ वटा स्थायी र ९७ वटा अस्थायी संरचना निर्माण भएका छन् । यी सबै भत्काईने महानगरले जनाएको छ ।
अतिक्रमणको चपेटामा परेको करीब ८ किलोमिटरको यो फिर्केखोलामा नापजाँचपश्चात ५८८ सीमा स्तम्भहरु गाडिएका छन् । जसअनुसार खोलाको पश्चिमतर्फ ३०३ वटा र पूर्वतर्फ २८५ वटा सीमा स्तम्भ गाडिएको महानगरको प्रतिवेदनमा उल्लेख छ । सो सीमा स्तम्भ भन्दा भित्रपट्टीका अतिक्रमित स्थायी तथा अस्थायी दुबै प्रकारका संरचना हटाईने मेयर आचार्यले जानकारी दिए ।
फिर्केखोला साबिक ग्यारजाती, पछि सराङकोट गाविसहुँदै हाल पोखरा महानगरपालिका वडा–नं.१८, २, ४, ५, ७, ८, ६ र १७ भएर फेवातालमा मिसिएको छ । फिर्केखोलाको खोलाघर नापजाँच समितिका संयोजक वासुदेव पौडेलका अनुसार नापजाँचका क्रममा फिर्केखोला न्यूनतम ३.३० मिटरदेखि उच्चतम ४० मिटर चौडाईंसम्म फराकिलो भएर फैलिएको पाइएको छ । खोलाको उचाई ४ देखि ९ मिटरसम्मको गहिराई रहेको उनले बताए ।
अतिक्रमित संरचना हटाईसकेपछि फिर्के करिडोर निर्माण गरेर त्यहाँ फिर्केको संरक्षण, सम्बद्र्धन र विशेष सौन्दर्यीकरणको योजना अगाडि बढाईने जनाइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । अभिभावक र विद्यालयबीचको सम्बन्धलाई अझ नजिक र विश्वासिलो बनाउने उद्देश्यसहित…







