सन्देश श्रेष्ठ
पोखरा, जेठ १०
पोखराको फिर्केखोलाको मापदण्ड मिचेर बनाइएका संरचना भत्काउन शुरु भएको छ । पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघर क्षेत्रमा बनाइएका अवैध संरचना भत्काउन शुरु गरेको हो । आईतबार विहान ३ फरक ठाउँबाट संरचना भत्काउन शुरु गरेको महानगरले पहिलो दिन २० वटा संरचना भत्काएको छ । आईतबार आठवटा पक्की र १२ वटा अस्थायी संरचना भत्काइएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए। उनका अनुसार पोखरा–१८ का ६ वटा, पोखरा ४ मा १० वटा, पोखरा ५ मा २ वटा र पोखरा ७ र ८ को सिमानामा रहेका २ वटा संरचना भत्काएको छ ।
पोखरा १८ मा ६ वटा संरचना भत्काइएको वडाध्यक्ष शिवप्रसाद तिमिल्सिनाले जानकारी दिए । फिर्केखोलाको सिरान क्षेत्रमा पर्ने यो वडामा ब्लकले बनेका ६ वटा टहरा भत्काइएको उनले बताए । बाँकी घरका पर्खाल, गेटलगायतका संरचना भत्काइएको उनको भनाई छ ।
पोखरा ४ मा १० वटा घरका संरचनाहरु भत्काइएको छ । कुनै घरका गेट, कुनैका पिल्लर त कुनैका पर्खाल भत्काइएका पोखरा–४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले जानकारी दिए । उनले भने,‘खोलाघरमा परेका सबै संरचना भत्काएका छौं ।
पोखरा ५ का २ वटा संरचना भत्काइएको सो वडाका वडाध्यक्ष विष्णुप्रसाद बरालले जानकारी दिए । उनका अनुसार दुईवटै संरचना खोलाघरमा बनाइएका घर थिए । उनले भने,‘हामीले खोलाघरमा बनाइएका घरका पिल्लर र पर्खाल भत्काएर क्लियर गरेका छौं ।’
पोखरा–७ र ८ को सिमानामा भने २ वटा संरचना भत्काइएका छन् । जहाँ लायन्सको भवन भत्काएर शुरु गरिए पनि मजबुत कंक्रिटका कारण भत्काउन समय लागेको थियो । त्यहि आडको अर्को एउटा मन्दिरको पनि संरचना भत्काउन शुरु गरिएको छ, यद्वपी पूरै भत्काउन भने बाँकी रहेको पोखरा ५ का अध्यक्ष बरालले जानकारी दिए ।
आईतबार विहानदेखि पोखरा ४ र ५ को सिमानामा पर्ने फिर्केपुल नजिकको क्षेत्र र पोखरा ७ र ८ को सिमानामा पर्ने जिरोकिलोमिटरस्थित फिर्केखोला पुल वरपरका ठाउँबाट अतिक्रमित संरचना भत्काउन शुरु गरिएको थियो । अवैध संरचना हटाउन पटक÷पटक ३५ दिने सूचनालाईसमेत अटेर गरेका उनीहरुले आईतबार भत्काउँदा भने अवरोध गरेनन् । खोलाघरको संरचना भत्काउँदा स्थानियको पनि सहयोग रह्यो,पोखरा–५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले भने,‘उनीहरुले केहि दिन समय दिए आफै भत्काउने थियौं त भने, तर विरोध गर्ने, अवरोध गर्ने काम गरेनन् ।’
अवैध संरचना भत्काउने कार्यको औपचारिक शुरुवात भने पोखरा ७ र ८ मा पर्ने जिरोकिलोमिटरस्थित फिर्केखोला मिचेर बनाइएको लायन्स क्लवको भवन भत्काएर शुरु गरिएको थियो । सो भत्काउने कार्यको शुरु गर्न मेयर आचार्य स्वयम् उपस्थित भएका थिए ।
अवैध संरचना भत्काउने कार्यको शुरु गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरामा अतिक्रमित संरचना भत्काउने र सार्वजनिक सम्पतीको संरक्षण गर्ने अभियान शुरु भएको बताए । फिर्केखोलाबाट शुरु भएको यो अभियान पोखरा बसपार्कहुँदै पोखराका सबै क्षेत्रमा पुग्ने उनको भनाई छ । यो शुरुवात हो,उनले भने,‘अब यो निरन्तर अघि बढ्छ र सबै सार्वजनिक सम्पतीको संरक्षण गरिनेछ ।’
फिर्केखोला घरमा सोंपाल तमु समाजदेखि बराल समाज घरसम्म, लिटिल स्टेप र लिंकन कलेजको भवनदेखि लायन्स क्लवको भवनलगायतको संरचना बनाइएका छन् । यी सबै संघसंस्थाले पोखरा महानगरसँग अनुमति लिएर बनाएकाले भत्काउन नपाउने जिकीर गर्दै आएका थिए । तर उनीहरुले हालेको रिटलाई जिल्ला अदालत कास्कीले खारेज गरिदिएपछि अवैध संरचना भत्काउन शुरु गरिएको हो ।
यसअघि पोखरा महानगरपालिकाले एक महिना लगाएर फिर्केखोलाको नापजाँच गरि प्रतिवेदन बनाएको थियो । सो प्रतिवेदन अनुसार फिर्केखोलामा मापदण्ड मिचेर १६० वटा संरचना निर्माण भएका छन् । जसमा ४५ वटा स्थायी र ११५ वटा अस्थायी प्रकृतिका संरचना निर्माण भएका छन् । जसमध्ये खोलामाथि १८ वटा स्थायी र १० वटा अस्थायी संरचना निर्माण भएको प्रतिवेदनमा उल्लेख छ । त्यसबाहेक खोलाको मापदण्ड मिचेर थप ३५ वटा स्थायी र ९७ वटा अस्थायी संरचना निर्माण भएका छन् । यी सबै भत्काईने महानगरले जनाएको छ ।
अतिक्रमणको चपेटामा परेको करीब ८ किलोमिटरको यो फिर्केखोलामा नापजाँचपश्चात ५८८ सीमा स्तम्भहरु गाडिएका छन् । जसअनुसार खोलाको पश्चिमतर्फ ३०३ वटा र पूर्वतर्फ २८५ वटा सीमा स्तम्भ गाडिएको महानगरको प्रतिवेदनमा उल्लेख छ । सो सीमा स्तम्भ भन्दा भित्रपट्टीका अतिक्रमित स्थायी तथा अस्थायी दुबै प्रकारका संरचना हटाईने मेयर आचार्यले जानकारी दिए ।
फिर्केखोला साबिक ग्यारजाती, पछि सराङकोट गाविसहुँदै हाल पोखरा महानगरपालिका वडा–नं.१८, २, ४, ५, ७, ८, ६ र १७ भएर फेवातालमा मिसिएको छ । फिर्केखोलाको खोलाघर नापजाँच समितिका संयोजक वासुदेव पौडेलका अनुसार नापजाँचका क्रममा फिर्केखोला न्यूनतम ३.३० मिटरदेखि उच्चतम ४० मिटर चौडाईंसम्म फराकिलो भएर फैलिएको पाइएको छ । खोलाको उचाई ४ देखि ९ मिटरसम्मको गहिराई रहेको उनले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । अभिभावक र विद्यालयबीचको सम्बन्धलाई अझ नजिक र विश्वासिलो बनाउने उद्देश्यसहित…







