अभिभावक–विद्यालय सम्बन्ध मजबुत बनाउन प्रतिभा मन्टेश्वरीको ‘मीट एण्ड ग्रीट’


     एभरेस्ट आवाज    
     जेठ १० गते २०८३ मा प्रकाशित




पोखरा । अभिभावक र विद्यालयबीचको सम्बन्धलाई अझ नजिक र विश्वासिलो बनाउने उद्देश्यसहित प्रतिभा मन्टेश्वरी ले ‘मीट एण्ड ग्रीट’ कार्यक्रम आयोजना गरेको छ । पोखराको नदिपुरस्थित विद्यालय परिसरमा आइतबार सम्पन्न कार्यक्रममा नर्सरीदेखि युकेजीसम्म अध्ययनरत विद्यार्थीका अभिभावक, शिक्षक तथा विद्यालय व्यवस्थापन पक्षको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा विद्यालयका फाइनान्सियल डाइरेक्टर विश्वगोपाल पराजुली ले बालबालिकाको सिकाइलाई प्रविधिमैत्री र व्यवहारिक बनाउँदै लगिएको बताए । उनले प्रत्येक बालबालिकाको क्षमता फरक हुने भएकाले अरूसँग तुलना नगरी उनीहरूको रुचि र क्षमतालाई बुझेर अघि बढाउन अभिभावकलाई आग्रह गरे ।

विद्यालयका सहप्राचार्य प्रदीप खनाल ले गतिविधिमूलक शिक्षालाई प्राथमिकतामा राखेर पढाइ सञ्चालन भइरहेको जानकारी दिए । ‘बुक फ्रि फ्राइडे’, थिम बेस्ड एक्टिभिटिज, संगीत, नृत्य र कला जस्ता अभ्यासमार्फत विद्यार्थीको भाषा, व्यवहार र सिर्जनशीलता विकासमा जोड दिइएको उनले बताए । उनका अनुसार विद्यालयले निरन्तर मूल्यांकन प्रणालीमार्फत विद्यार्थीको वास्तविक सिकाइ क्षमताको मूल्यांकन गर्दै आएको छ । अभिभावकका सुझाव र गुनासालाई पनि विद्यालयले प्राथमिकतासाथ सुन्ने गरेको उनले उल्लेख गरे ।

विद्यालयकी मन्टेश्वरी कोअर्डिनेटर निर्मला सुवेदीले बालबालिकाको मनोविज्ञान बुझेर आत्मीय वातावरणमा अध्यापन गराइने बताइन् । उनले बालबालिकाको सर्वाङ्गीण विकास विद्यालयको मुख्य प्राथमिकता रहेको धारणा राखिन् ।

कार्यक्रममा शिक्षिकाहरू रक्षा बराल, नाजिया अली र मञ्जु श्रेष्ठ ले नयाँ शैक्षिक सत्रका योजना, पठनपाठन प्रक्रिया तथा बालबालिकाको समग्र विकासबारे अभिभावकलाई जानकारी गराएका थिए ।

कार्यक्रमअन्तर्गत स्वागत नृत्य, कविता वाचन, समयको महत्वसम्बन्धी नाटक, अभिभावक सहभागितामूलक खेल तथा मनोरञ्जनात्मक गतिविधि प्रस्तुत गरिएको थियो । अभिभावकबीच सञ्चालन गरिएको क्विज तथा खेलका विजेतालाई पुरस्कृतसमेत गरिएको विद्यालयले जनाएको छ ।

कार्यक्रमको सञ्चालन शिक्षिकाद्वय नाजिया अली र कविता यादव ले गरेका थिए । कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक सन्देश पौडेलको पनि उपस्थिति रहेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।