सन्देश श्रेष्ठ
पोखरा, जेठ ११
पोखराको फिर्केखोलाको मापदण्ड मिचेर बनाइएका थप १९ वटा संरचना भत्काइएको छ । पोखरा महानगरपालिकाले फिर्केखोला खोलाघरमा बनेका अवैध संरचना हटाउने अभियान अन्तर्गत दोस्रो दिन पक्की ९ र कच्ची १० वटा गरेर कुल १९ वटा संरचना भत्काएको हो । यसअघि पहिलो दिन ८ पक्की र १२ कच्ची गरेर २० वटा संरचना भत्काइएको थियो । फिर्केखोला खोलाघर मिचेर १६० संरचना बनेको महानगरले बनाएको प्रतिवेदनमा उल्लेख छ ।
आईतबारजस्तै सोमबार पनि फिर्केखोलाका तीन फरक ठाउँमा डोजर चलाइएको थियो । सोमबार फिर्केखोलाको मुहान क्षेत्र पोखरा–१८ मा ३ वटा, पोखरा–२ मा ४ वटा, फिर्केखोलाको मध्यभाग पोखरा–४ मा २ वटा, पोखरा–५ मा ७ वटा तथा फिर्केखोलाको पुछार नजिकका क्षेत्रमा पर्ने पोखरा–८ मा २ वटा र पोखरा–७ मा एउटा संरचना भत्काइएको पोखरा महानगरपालिका सुरक्षा तथा नगर निरीक्षण शाखा प्रमुख प्रहरी निरीक्षक (ईन्सपेक्टर) पुरुषोत्तम थापाले जानकारी दिए । उनका अनुसार सोमबार ९ वटा पक्की संरचना भत्काइएको छ । जसमा एउटा पूर्ण रुपमा भत्काइएको छ भने अन्य ८ वटा आंशिक रुपमा मात्रै भत्काइएको छ । सोमबार पोखरा–८ जिरोकिलोमिटरस्थित राधाकृष्ण सामुदायिक भवन मात्रै पूर्ण रुपमा भत्काइएको उनले बताए । ‘अन्य पक्की संरचना भएका घर तथा भवनहरुचाहिं आंशिक रुपमा मात्रै भत्काइएको छ’–उनले भने ।
सोमबार पोखरा–५ स्थित ५ तले घरसमेत भत्काइएको छ । स्थानिय ज्ञानबहादुर कोईरालाले फिर्केखोला खोलाघर मिचेर बनाइएको सो घरसहित अन्य घरहरु भत्काइएको हो । यद्वपी ती घरहरुलाई पूर्ण रुपमा भने नभत्काई खोला क्षेत्रतर्फको भागमा प्वाल पारेर छाडिएको छ । डोजरले पूर्ण भाग भत्काउन समस्या भएकाले आंशिक भत्काएर छाडिएको पोखरा–५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले बताए । घरधनी आफैले भत्काउने पनि भनेका छन्, उनले भने,‘घरधनीले नभत्काए केहि दिनपछि पुनः एस्काभेटर ल्याएर भत्काउँछौं ।’ सो क्षेत्रमा केहि घरका भागहरु भत्काइएका छन् भने अधिकांश ठाउँमा घर जोगाउन लगाइएको रिटेनिङ वाल भत्काएर छाडिएको छ । जसले गर्दा असार, साउनमा अविरल वर्षा भएर बाढी आएमा जोखिम निम्तिनसक्ने स्थानियमा डर छ । त्यसैले अर्को व्यवस्था नभएसम्म सो रिटेनिङ वाल नभत्काउन उनीहरुले आग्रहसमेत गरेका थिए । वडाध्यक्ष बराल भने जोखिम न्यूनिकरणका लागि महानगरमा छलफल भइरहेको बताउँछन् । भने,‘सायद चाँडै यसको निकास आउला, हामी पनि निकासका लागि प्रयासरत छौं ।’
पोखरा महानगरपालिकाका प्रमुख धजराज आचार्यले दोस्रो दिन पनि सुमधुर र सौहार्दपूर्ण वातावरणमा फिर्के खोलाको खोलाघर सफा गर्ने कार्य भएको बताए । सोमबारदेखि डोजर, एस्काभेटर, प्राविधिक र सुरक्षाकर्मी थपेर काम शुरु गरिएको बताउँदै उनले भने,‘अबको ३÷४ दिनमा फिर्केखोलाका सबै अवैध संरचना भत्काएर सफा बनाईन्छ ।’
फिर्केखोलामा मापदण्ड मिचेर १६० वटा संरचना निर्माण भएका छन् । महानगरले बनाएको प्रतिवेदनमा ४५ वटा स्थायी र ११५ वटा अस्थायी प्रकृतिका संरचना निर्माण भएका छन् । जसमध्ये खोलामाथि १८ वटा स्थायी र १० वटा अस्थायी संरचना निर्माण भएको प्रतिवेदनमा उल्लेख छ । त्यसबाहेक खोलाको मापदण्ड मिचेर थप ३५ वटा स्थायी र ९७ वटा अस्थायी संरचना निर्माण भएका छन् । यी सबै भत्काईने महानगरले जनाएको छ ।
अतिक्रमणको चपेटामा परेको करीब ८ किलोमिटरको यो फिर्केखोलामा नापजाँचपश्चात ५८८ सीमा स्तम्भहरु गाडिएका छन् । जसअनुसार खोलाको पश्चिमतर्फ ३०३ वटा र पूर्वतर्फ २८५ वटा सीमा स्तम्भ गाडिएको महानगरको प्रतिवेदनमा उल्लेख छ । सो सीमा स्तम्भ भन्दा भित्रपट्टीका अतिक्रमित स्थायी तथा अस्थायी दुबै प्रकारका संरचना हटाईने मेयर आचार्यले जानकारी दिए ।
फिर्केखोला साबिक ग्यारजाती, पछि सराङकोट गाविसहुँदै हाल पोखरा महानगरपालिका वडा–नं.१८, २, ४, ५, ७, ८, ६ र १७ भएर फेवातालमा मिसिएको छ । फिर्केखोलाको खोलाघर नापजाँच समितिका संयोजक वासुदेव पौडेलका अनुसार नापजाँचका क्रममा फिर्केखोला न्यूनतम ३.३० मिटरदेखि उच्चतम ४० मिटर चौडाईंसम्म फराकिलो भएर फैलिएको पाइएको छ । खोलाको उचाई ४ देखि ९ मिटरसम्मको गहिराई रहेको उनले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, ११ जेठ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष तथा नेपाल उद्योग…







