सन्देश श्रेष्ठ
पोखरा, जेठ १३
पोखराको फिर्केखोलाको मापदण्ड मिचेर बनाइएका अवैध संरचनामध्ये बुधबारसम्म दुई तिहाई संरचना हटाइएको छ । पोखरा महानगरपालिकाले फिर्केखोला खोलाघरमा बनेका अवैध संरचना हटाउने अभियान अन्तर्गत आईतबारदेखि डोजर लगाएर भत्काउन शुरु गरेकोमा चौथो दिन बुधबार सम्म आईपुग्दा ६६ प्रतिशत अवैध संरचना भत्काउन सफल भएको हो ।
महानगरले हालसम्म फिर्केखोला खोलाघर मिचेर बनाइएका १६० संरचनामध्ये १०५ वटा संरचना भत्काएको जनाएको छ । पहिलो दिन २० वटा संरचना भत्काएकोमा सोमबार ३१ र मंगलबार ३१ वटा संरचनामा डोजर लगाएर भत्काएको थियो । सो अभियान अन्तर्गत बुधबार थप २३ वटा संरचना डोजर भत्काइएको पोखरा महानगरपालिका सुरक्षा तथा नगर निरीक्षण शाखा प्रमुख प्रहरी निरीक्षक (ईन्सपेक्टर) पुरुषोत्तम थापाले जानकारी दिए । उनका अनुसार बुधबार पोखरा–१८ अँधेरीकुनातर्फका ८, पस्र्याङतर्फका ४ र जिरोकिलोमिटरतर्फका ११ वटा गरेर २३ वटा संरचना भत्काइएको छ ।
बुधबार अँधेरीकुनाका एउटा पर्खाल र ७ वटा स्थायी संरचना गरेर ८ वटा संरचना डोजर लगाएर भत्काइएको छ । पस्र्याङतर्फ एउटा कम्पाउण्ड पर्खाल, दुई वटा अस्थायी र एउटा स्थायी संरचना भत्काइएको छ भने जिरोकिलोमिटरतर्फ ५ वटा कम्पाउण्ड पर्खाल र ६ वटा स्थायी गरेर कुल ११ वटा संरचना भत्काइएका छन् । बुधबार जिरोकिलोमिटरतर्फ मालपोत कार्यालय अगाडिको क्षेत्रमा पनि डोजर लगाएर त्यहाँ रहेका संरचनाहरु भत्काइएको थियो ।
फिर्केखोलामा मापदण्ड मिचेर १६० वटा संरचना निर्माण भएका छन् । महानगरले बनाएको प्रतिवेदनमा ४५ वटा स्थायी र ११५ वटा अस्थायी प्रकृतिका संरचना निर्माण भएका छन् । जसमध्ये खोलामाथि १८ वटा स्थायी र १० वटा अस्थायी संरचना निर्माण भएको प्रतिवेदनमा उल्लेख छ । त्यसबाहेक खोलाको मापदण्ड मिचेर थप ३५ वटा स्थायी र ९७ वटा अस्थायी संरचना निर्माण भएका छन् । यी सबै भत्काईने महानगरले जनाएको छ ।
अतिक्रमणको चपेटामा परेको करीब ८ किलोमिटरको यो फिर्केखोलामा नापजाँचपश्चात ५८८ सीमा स्तम्भहरु गाडिएका छन् । जसअनुसार खोलाको पश्चिमतर्फ ३०३ वटा र पूर्वतर्फ २८५ वटा सीमा स्तम्भ गाडिएको महानगरको प्रतिवेदनमा उल्लेख छ । सो सीमा स्तम्भ भन्दा भित्रपट्टीका अतिक्रमित स्थायी तथा अस्थायी दुबै प्रकारका संरचना हटाईने मेयर आचार्यले जानकारी दिए ।
फिर्केखोला साबिक ग्यारजाती, पछि सराङकोट गाविसहुँदै हाल पोखरा महानगरपालिका वडा–नं.१८, २, ४, ५, ७, ८, ६ र १७ भएर फेवातालमा मिसिएको छ । फिर्केखोलाको खोलाघर नापजाँच समितिका संयोजक वासुदेव पौडेलका अनुसार नापजाँचका क्रममा फिर्केखोला न्यूनतम ३.३० मिटरदेखि उच्चतम ४० मिटर चौडाईंसम्म फराकिलो भएर फैलिएको पाइएको छ । खोलाको उचाई ४ देखि ९ मिटरसम्मको गहिराई रहेको उनले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, जेठ १३ पोखराको फिर्केखोलाको मापदण्ड मिचेर बनाइएका अवैध संरचनामध्ये बुधबारसम्म…







