पोखरा, १० जेठ । कास्कीको मादी गाउँपालिका–८ मा सबुपोखरी पदमार्गको प्रवर्द्धन गर्ने उद्देश्यसहित ताङ्तिङ–क्रपुडाँडा–सबुपोखरी–मिजुरेडाँडा ट्रेकिङ रुटमा दुईदिने हाइकिङ कार्यक्रम गरिएको छ ।
मादी गाउँपालिका वडा नं. ८ को आयोजनामा जेठ ९ र १० गते सञ्चालन गरिएको कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) सिक्लेस, मादी गाउँपालिका तथा विभिन्न संघसंस्थाको सहयोग रहेको थियो ।
आयोजक समितिका सचिव मीनबहादुर भट्टराईका अनुसार कार्यक्रममा पर्यटन व्यवसायी, ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) गण्डकी, गुरुङ पर्यटन व्यवसायी संघ, हाइकर्स क्लब नेपाल, ट्रेकर्स समूह, पत्रकार, स्थानीय जनप्रतिनिधि, सामाजिक अभियन्ता, शिक्षक तथा युवा क्लबका प्रतिनिधिसहित १३६ जनाको सहभागिता रहेको थियो ।
पहिलो दिन सहभागी टोली पोखराबाट बसमार्फत ताङ्तिङ पुगेको थियो । ताङ्तिङमा भोजनपछि टोली चार घन्टाको पैदल यात्रा गर्दै क्रपुडाँडा पुगेको थियो । दोस्रो दिन क्रपुडाँडाबाट सबुपोखरी हुँदै मिजुरे क्षेत्र झरेर पर्क्यु र पोशी गाउँमा कार्यक्रम समापन गरिएको आयोजक समितिका सदस्य राजेन्द्र अधिकारीले बताए । त्यसपछि टोली रबैडाँडा, नागीधार, पाखुरीकोट, गोर्जे र मुग्री हुँदै बसमार्फत पोखरा फर्किएको थियो ।
कार्यक्रमको उद्घाटन देविजंग गुरुङ ले पोखरा–१३ काहुँखोलामा गरेका थिए । उनले मादी–८ र स्थानीय युवा क्लबको सक्रियतामा भएको कार्यक्रमले मादी क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको बताए ।
कार्यक्रम संयोजक तथा मादी गाउँपालिका–८ का जनप्रतिनिधि ओमप्रकाश गुरुङले सबुपोखरी पदमार्ग पर्यटन सम्भावना बोकेको क्षेत्र भए पनि प्रचारप्रसार अभावमा ओझेलमा परेको बताए । ताङ्तिङबाट क्रपुडाँडा पुगेका पर्यटकलाई सबुपोखरी हुँदै नागीधार, पाखुरीकोट, पोशी, पर्क्यु, रबैडाँडा तथा गोर्जे–मुग्रीसम्म जोडेर वैकल्पिक पदमार्ग विस्तार गर्न सकिने सम्भावना रहेको उनको भनाइ थियो ।
हाइकिङमा सहभागी पर्यटन व्यवसायी गणेशबहादुर थापाले क्रपुडाँडादेखि सबुपोखरी झर्ने क्रममा केही भिरालो स्थानमा भर्याङ र रेलिङ आवश्यक रहेको बताए । पदमार्गमा खानेपानीसहित आधारभूत पूर्वाधार विस्तार गर्न सके रुट थप व्यवस्थित बन्ने उनले बताए ।
मादी गाउँपालिका–८ का वडा अध्यक्ष प्रेमबहादुर गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा कृष्ण आचार्य, कृष्ण रानाभाट लगायतले यस्ता कार्यक्रमले पदमार्ग प्रवर्द्धनसँगै युवामा ट्रेकिङप्रतिको आकर्षण बढाउने बताए ।




सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


मनसुन सुरु नहुँदै पोखराका विभिन्न स्थानमा जमिन भासिन थालेको छ । शुक्रबार…







