सगरमाथा आरोही परियारसहित बिभिन्न व्यक्ति सम्मानित


     एभरेस्ट आवाज    
     जेठ १९ गते २०८३ मा प्रकाशित




पोखरा महानगरपालिका वडा नं. १९ ले सगरमाथा आरोहीसहित शैक्षिक क्षेत्रका बिभिन्न व्यक्तिलाई सम्मान गरेको छ ।

मंगलबार आयोजित कार्यक्रममा पोखरा १९ पुरञ्चौर घर भई हाल अमेरिकामा बस्दै आएका सगरमाथा आरोही अमृत परियार सम्मानित भएका छन् । जातिय छुवाछुत, महिला हिंसा र बलात्कार विरुद्धको अभियान चलाइरहेका परियारले सो आवाज विश्वको सर्वोच्च शिखर सगरमाथाबाट पनि विश्वभर पुर्याएका छन् । उनले चालेको अभियान र सफलताको प्रशंसा गदै वडाका तर्फबाट नागरिक सम्मान गरिएको वडा सदस्य विकासकुमार आचार्यले जानकारी दिए । उनलाई वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले दोसल्लासहित सम्मानपत्र प्रदान गरे । सोही कार्यक्रममा उत्कृष्ट शिक्षक तथा अध्यक्षलाई पनि सम्मान गरिएको छ । सम्मानित हुनेमा भुमेश्वर आधारभुत विद्यालय, घार्मीका शिक्षक माधवप्रसाद आचार्य, महेन्द्र माविका रत्ना विश्वकर्मा, भारती भवन माविका भोला गिरी, विन्ध्येश्वरी माविका प्र.अ. श्रीराम आचार्य र शिवेश्वरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिमलाल बास्तोला छन् ।

उनीहरुलाई वडाध्यक्ष पाण्डे,पोखरा महानगरपालिकाका शिक्षा अधिकृत जीवन रेग्मी, प्राकृतिक स्रोत व्यवस्थापन कलेजका प्रमुख प्रा.डा. दुर्गा देवकोटालगायतले सम्मानपत्र, दोसल्ला, मायाको चिनो तथा नगद पुरस्कार प्रदान गरे । वडा शिक्षा समितिले गरेको बर्षभरिको मुल्यांकनका आधारमा उत्कृष्ट शिक्षक तथा अध्यक्ष छनोट गरिएको जनाईएको छ ।कार्यक्रममा बोल्दैं वडाध्यक्ष पाण्डेले सामाजिक अभियन्ताको आवाज समाजमा मात्र सिमित नभई विश्वसामु पुगेको बताउँदै, परियारको अभियानलाई वडाको साथ र सहयोग रहने बताए । उनले सगरमाथा आरोही परियारको कदमले सिगो वडानै हर्षित भएको बताए । सगरमाथा आरोही अमृत परियारले आफ्नै वडा र यहाँका बिभिन्न संघ संस्थाले दिएको सम्मानले अभियानलाई थप अगाडी बढाउने प्रेरणा प्राप्त भएको भन्दै खुशी व्यक्त गरे । कार्यक्रममा पोखरा मनपाका शिक्षा अधिकृत जीवन रेग्मी ,प्राध्यापक डा. दुर्गा देवकोटा, सम्मानित व्यक्ति श्रीराम आचार्य, एमाले वडा कमिटी १९ का अध्यक्ष कोमलप्रसाद बास्तोला,वडा सदस्यहरू दुर्गादेवी बस्नेत, नवराज केसी, वडा सचिव झंकनाथ पौडेल लगायतले यस्ता किसिमका सम्मानले प्रेरणासँगै सफलता दिलाउने बताए । सोही अवसरमा वडाबाट प्रकाशित भित्तेपात्रो पनि सार्वजनिक गरिएको छ ।

वडा अध्यक्ष पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वडा सदस्य कल्पना सुनार र संचालन वडा सदस्य विकासकुमार आचार्यले गरेका थिए । आरोही परियारलाई यसअघि पुरञ्चौरको विन्ध्येश्वरी युवा क्लब, विन्ध्येश्वरी मावि, लामाचौरको नव आदर्श सामुदायिक विकास समाज,राष्ट्रिय स्वतन्त्र पार्टी, वडा समितिले सम्मान गरिसकेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।