विश्वको प्रमुख हवाई सेवा प्रदायक कम्पनी फ्लाइ दुबई पोखरा–दुबई दैनिक सिधा उडान सञ्चालन गर्न सकरात्मक देखिएको छ ।
फ्लाइ दुबईका उड्डयन सुरक्षा उपाध्यक्ष एड्रियन लुकाजसहितको प्राविधिक टोलीले विमानस्थलको स्थलगत निरीक्षण तथा प्राविधिक छलफल पछि दैनिक सिधा उडान सञ्चालन गर्न इच्छुक रहेको बताईएको छ। टोलीले विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौला तथा प्राविधिक टोलीसँग करिब ६ घण्टा छलफल गर्दै धावनमार्ग, सुरक्षा प्रणाली, प्राविधिक पूर्वाधार र उडान सञ्चालनसँग सम्बन्धित पक्षको अध्ययन गरेको थियो।अध्ययनपछि टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेटवार्ता गरेको छ ।सो क्रममा उपाध्यक्ष लुकाज र प्रमुख आचार्यबिच पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडान सञ्चालन गर्ने, दुबई र पोखराबीच पर्यटन प्रवद्र्धनका सम्भावनाको खोजी गर्ने, हवाई उडानका क्रममा परिपालना गर्नुपर्ने सुरक्षा मापदण्डलगायत दुई पक्षीय हितका विषयमा कुराकानी भएको थियो ।
उड्डयन सुरक्षा, जोखिम व्यवस्थापन र ‘एयरलाइन अपरेसन’को क्षेत्रमा विशेषज्ञता हासिल गर्नुभएका लुकाजले फ्लाइ दुबईले उडानबाट पोखरासँग जोडिन पाए समग्र पोखरा र यस क्षेत्रको पर्यटनका लागि सुखद हुने बताउनुभयो । विमानस्थलहरूको अन्तरराष्ट्रिय र स्थानीय उड्डयन सुरक्षा मापदण्डहरूको अनुपालन सुनिश्चित गर्न सुरक्षा रणनीतिहरूको निरीक्षणमा दखल राख्ने लुकाजले पोखराको सुन्दरताले आफू निकै प्रभावित भएकोसमेत बताए । सो क्रममा नगर प्रमुख आचार्यले पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित अन्तरराष्ट्रिय उडान सञ्चालनका लागि निरन्तर पहल गरिरहेको उल्लेख गर्दै दुई देशबीचको पर्यटन आदानप्रदानमा सिधा उडानको भूमिका महत्वपूर्ण रहने भएकाले सो का लागि कम्पनीका तर्फबाट विशेष पहल गर्न अनुरोध गरे।
नेपाल सरकारसँग आफूले पटकपटक संवाद गरेको र विशेष समयहरुमा अन्तरराष्ट्रिय चार्टर उडानहरू सञ्चालन भइरहेकाले विमानस्थल अन्तरराष्ट्रिय उडान भर्न सक्षम रहेको उनले उल्लेख गरे । भेटवार्तामा नगर प्रमुख आचार्यसहित महानगरका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, पोखरा भ्रमण वर्षका संयोजक गोपीबहादुर भट्टराईलगायत सहभागी थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेकपा एमालेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ सम्बन्धी दुईदिने राष्ट्रिय कार्यशाला काठमाडौंमा…








