पोखरामा सञ्चालित हरित रोजगारी सिर्जना परियोजनाको अवलोकन गर्न धनगढी उपमहानगरपालिकाको टोली पोखरा आएको छ ।
दुई नगर बिचको सिकाई आदानप्रदानका लागि नगर प्रमुख गोपी हमाल नेतृत्वको टोली पोखरा आइपुगेको हो ।टोलीले पोखरामा सञ्चालित आरयु उद्यमसँग सम्बन्धित उद्यमहरूको अवलोकन गर्ने बताईएको छ । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग कोइका र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम युएनडिपीको आर्थिक सहयोगमा पोखरा प्रदर्शनी केन्द्रमा रिसाइक्लिङ र अपसाइक्लिङमार्फत हरित रोजगारी सिर्जना परियोजना निर्माण भइरहेको छ । परियोजना मार्फत झन्डै १० मिलियन अमेरिकी डलरको लगानी र ३ हजारभन्दा बढी रोजगारी सिर्जना हुनेछ । फोहोरबाट कोसेली बनाएर बेच्ने गरी यो घरको निर्माण थालिएको नगर प्रमुख धनराज आचार्यले बताएका छन् ।
परियोजनाले हरित रोजगारी सिर्जनासँगै चक्रीय अर्थतन्त्रको निर्माणमा महत्त्वपूर्ण योगदान गर्ने नगर प्रमुख आचार्यको भनाइ छ । फोहोरलाई मोहोरमा बदल्ने गरी महानगर क्षेत्रका १३६ वटा समूहहरू मार्फत पुनः प्रयोगमा आउने सामाग्रीहरू निर्माण गरी आर्थिक रूपमा सामुदायिक सशक्तीकरण गरिने उनले बताए । धनगढीका प्रमुख हमालले पोखरा महानगरपालिकाले अवलम्बन गरेको असल अभ्यासहरूको सिकाइका लागि आफूहरू पोखरा आएको बताए । पोखरा महानगरपालिकाले अवलम्बन गरेका हरेक प्रकारका असल अभ्यासहरू धनगढीका लागि महत्त्वपूर्ण सिकाई हुने उनको भनाई छ । आफूहरूका लागि पोखरा आफैमा विश्वविद्यालय जस्तो रहेको उनले बताए ।

पोखरामा निर्माणाधीन परियोजनामा कोइकाले ९.८ मिलियन अमेरिकी डलर र युएनडिपीले ०.८७ मिलियन अमेरिकी डलर लगानी गर्नेछ । परियोजनाले नकुहिने फोहोर प्रशोधनसहित फोहोरबाट नयाँ चिजहरू उत्पादन गर्नेछ । यसलाई सिकाइ केन्द्रका रूपमा विकास गरिने र पोखराका लागि एक पर्यटन गन्तव्यका रूपमा समेत यो स्थापित हुने विश्वास गरिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, जेठ २१ पोखरामा फोहोर फाल्ने ठाउँमा बम भेटिएको छ ।…







