अनिवार्य तथा निशुल्क शिक्षा कार्ययोजना लागु गर्न सरोकारवाला तयार


     एभरेस्ट आवाज    
     जेठ २९ गते २०८३ मा प्रकाशित




सरकारले ल्याउन लागेको अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धि कार्ययोजनालाई कार्यान्वयन गर्न पहल गरिने भएको छ ।

शिक्षा विकास तथा समन्वय ईकाई, कास्कीले आज पोखरामा सरोकारवालाबिच आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा सरोकारवालाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिसँगै कार्ययोजना लागु गर्न तयार रहेको बताएका छन् । उनीहरुले सो कार्ययोजना कार्यान्वयनका लागि बजेटको चुनौती रहने तर्फ ध्यानाकर्षण गराउँदै, तीनै तहका सरकारलाई बजेट विनियोजन गरी प्रभावकारी रुपमा लागु गर्न सुझाव दिएका छन् । सरकारले आगामी २०८५ साल बैशाख १ गतेबाट अनिवार्य तथा निशुल्क शिक्षा कार्यान्वयनमा ल्याउने तयारी गरेको छ । कार्यक्रममा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय गण्डकीका अतिरिक्त सचिव दामोदर सुवेदीले शिक्षासँग सम्बन्धित कानुनको जानकारी दिदैं, सरकारले अघि सारेको कार्ययोजना सफल बनाउनु पर्नेमा जोड दिए । उनले विद्यालय जाने उमेरका कुनै पनि बालबालिका, विद्यालय बाहिर हुन नहुने बताउँदै, कार्ययोजनाले विद्यालय तथा सिकाई केन्द्रमा आर्कषण बढाउने बताए ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका पुर्व महानिर्देशक दीपक शर्माले बालबालिकाको पढ्न पाउने संवैधानिक हकलाई समेत यसले सुनिश्चित गर्ने बताए । उनले कार्ययोजना प्रभावकारी रुपमा लागु गर्ने दायित्व सबै सरोकारवालाको भएको बताउँदै, यसमा आउने समस्याको समाधान गर्न पनि सम्बन्धित निकाय गम्भीर हुनुपर्ने बताए । शिक्षा विकास तथा समन्वय ईकाइ, कास्कीका प्रमुख लोकनाथ आचार्यले कार्ययोजनाको बारेमा जानकारी दिदै, कास्कीका ५ वटै पालिकाले यसलाई लागु गर्ने सम्वन्धमा योजना बनाउन सुझाव दिए ।

प्रदेश सरकारले पनि यस विषयमा पर्याप्त छलफल गरेको र कार्ययोजनालाई पालिकास्तरमा वितरण गरेको उनले जानकारी दिए । प्रमुख आचार्यले कास्कीमा विद्यमान शैक्षिक अवस्थाको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा पोखरा महानगरपालिका सामाजिक विकास समितिका सदस्य श्रीकृष्ण लामिछाने, अन्नपुर्ण गाउँपालिका तुलसीप्रसाद अधिकारी, शिक्षक महासंघ कास्कीका अध्यक्ष भोलानाथ पौडेल, डिल्लीराम पौडेल, पत्रकार यदुनाथ बञ्जरा, सिकाई केन्द्र हेम्जाकी अध्यक्ष गंगा त्रिपाठीलगायतले कार्ययोजना लागु गर्नुपर्नेमा जोड दिदैं यसका लागि बजेट सुनिश्चित हुनुपर्ने बताए ।

ईकाइ प्रमुख आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शाखा अधिकृत बलराम भुगाँईले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।