नागढुङ्गा आमा समूहको अभिमुखीकरण तथा प्रस्तावना लेखन तालिम सम्पन्न


     एभरेस्ट आवाज    
     जेठ ३० गते २०८३ मा प्रकाशित




नागढुङ्गा आमा समूहको आयोजनामा पोखराको नागढुंगामा एक दिने अभिमुखीकरण तथा प्रस्तावना लेखन सम्बन्धी तालिम सम्पन्न भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर ९ को आर्थिक सहयोगमा आयोजित तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि वडा नम्बर ९ का सदस्य लक्ष्मी पहारीले महिलाहरूको व्यक्तित्व तथा नेतृत्व विकासका लागि वडाले विभिन्न तालिमहरूमा सहयोग प्रदान गर्दै आएको बताईन् । वडा सदस्य नन्दराम गिरीले तालिम लिएपछि समूहका सदस्यहरूमा आत्मविश्वास सँगै क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गरे । आयोजक नागढुंगा आमा समूहका अध्यक्ष कमला श्रेष्ठले तालिमका लागि सहयोग उपलब्ध गराएकोमा वडा ९ कार्यालयप्रति आभार व्यक्त गरिन्। समूहका उपाध्यक्ष सीमा लामिछानेले स्वागत मन्तव्य राख्दै तालिम एक दिनको मात्रै भएपनि समूहका लागि यो महत्वपूर्ण भएको औल्याईन् ।

प्रशिक्षक दुर्गा अधिकारीले अभिमुखीकरण तथा प्रस्तावना लेखनका बारेमा विस्तृत जानकारी गराउँदै कुनै पनि कार्यक्रम आयोजनाका लागि प्रस्तावना लेखन महत्वपूर्ण हुने जनाईन् । समूहका सहसचिव पार्वती अधिकारीले सञ्चालन गरेको तालिममा समूहमा आबद्ध ४० जनाको सहभागिता रहेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।