पोखरेली पर्यटन व्यवसायी पर्यटक बोलाउन कोलकत्तामा, भ्रमण पर्यटनको आधारशीला बन्ने विश्वास


     एभरेस्ट आवाज    
     जेठ ३१ गते २०८३ मा प्रकाशित




पोखरा, जेठ ३१

पोखराका पर्यटन व्यवसायीहरुले भारतको कोलकत्ताबासीलाई पोखरा भ्रमणको निम्तो दिएका छन् । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको नेतृत्वमा गएका पोखराका पर्यटन व्यवसायीहरुले कोलकत्तामा ‘पोखरा–नेपाल प्रवद्र्धन अभियान २०२६’ अन्तर्गत बी–टु–बी नेटवर्किङ कार्यक्रम गरेर त्यहाँका नागरिकलाई पोखरा भ्रमणको निम्तो दिएका हुन् । त्यहाँ आफूहरुले ‘गर्मीमे चलो नेपाल’ नारासहित पोखरा भ्रमणको निम्तो गरेको पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा पोखरेली पर्यटन व्यवसायीहरुले पोखरा, मुस्ताङको मुक्तिनाथ, अन्नपूर्ण क्षेत्रसहित गण्डकी प्रदेशका अन्य पर्यटकीय गन्तव्यहरुबारे जानकारी गराएका थिए । उनीहरुले भारतका कोलकत्तासहित विभिन्न सहरमा बढ्दो चर्को गर्मीले आकुलव्याकुल भएका भारतीय नागरिकलाई गर्मी छल्न पोखरा आउन आग्रह गरेका थिए । सो अवसरमा आफूहरुले पोखरा सुरक्षित र सुन्दर रहेको जानकारी गराउँदै भ्रमणको निम्तो दिएको नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहालले जानकारी दिए । भारतीय पर्यटकका लागि पोखरा आउजाउ गर्न अहिले सडक कनेक्टिभिटी सजिलो भएको जानकारी गरायौं,उनले भने,‘यसले भारतीय पर्यटकको यात्रा सहज भएको छ भने यात्रा अवधी पनि छोट्टिएको कुरा सुनायौं ।’ उनले आफूहरुले हवाई कनेक्टिभिटीका लागि पनि पहल गरिरहेको जानकारी गराएको बताए ।

आफूहरुको आग्रहलाई भारतीय टुर अप्रेटरहरुले सहर्ष स्वीकार गरेको अध्यक्ष दाहालले कोलकत्ताबाटै जानकारी दिए । भारतीय पर्यटकलाई पोखरा भित्राउन उनीहरु ईच्छुक देखिए,उनले भने,‘यसले पोखरा र समग्र नेपालको पर्यटनमा सकारात्मक प्रभाव पर्ने विश्वास लिएका छौं ।’ कोलकत्ता भ्रमणको परिणाम निकट भविष्यमा देखिने उनले दाबी गरे ।

कार्यक्रम संयोजक संगीता पौडेलले कोलकाता र पश्चिम बंगाल नेपालको पर्यटनका लागि अत्यन्त सम्भावनायुक्त बजार रहेको बताईन् । ‘हाम्रो भ्रमणले कोलकत्ता र पश्चिम बंगालसँग नेटवर्क बिस्तार भएको छ । यसले भविष्यमा थप व्यवसायिक सहकार्यको ढोका खोल्यो’–उनले भनिन् ।

पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष तथा नाट्टा गण्डकीका पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले नेपाल र भारतबीचको सम्बन्ध रोटी बेटीको सम्बन्ध रहेकाले यसको सदूपयोग पर्यटनमा गर्न सकिने बताए । तर त्यसका लागि कनेक्टिभिटी बढाउनुपर्ने उनको सुझाव छ । सडक कनेक्टिभिटी अहिले सहज भएको छ,उनले भने,‘अब पोखरा–कोलकाता सिधा हवाई उडान सञ्चालन गर्न सके दुवै सहर लाभान्वित हुनेछन् ।’ त्यसका लागि पहलकदमी लिईने उनको भनाई छ ।

कार्यक्रममा नेपाली महावाणिज्यदूत झक्कप्रसाद आचार्यले पर्यटन केवल भ्रमणको विषय नभई नेपाल र भारतबीचको मित्रता, संस्कृति र आर्थिक समृद्धिको पुल भएको बताएका थिए । पश्चिम बंगाल र नेपालबीचको भौगोलिक निकटता, सांस्कृतिक समानता तथा ऐतिहासिक सम्बन्ध पर्यटन विस्तारका लागि बलियो आधार भएको उनको भनाई थियो । उनले पोखरा दक्षिण एसियाकै उत्कृष्ट पर्यटन गन्तव्यमध्येको एक सहर भएको उल्लेख गरे ।

भारत ईटीएए इस्टर्न च्याप्टरका अध्यक्ष कौशिक बनर्जीले भारतीय पर्यटकका लागि पोखरा नजिकको सस्तो र आकर्षक गन्तव्य भएको बताए । ‘नेपाल र भारतबीचको खुला सीमा, सांस्कृतिक निकटता र छोटो दूरी पर्यटनका लागि महत्वपूर्ण अवसर हो’–उनले भने ।

पछिल्लो समय भारतीय पर्यटकका लागि पोखरा आकर्षण बन्दै गएको छ । अझ गर्मीको समयमा उनीहरु गर्मी छल्न आउने पर्यटकको संख्या ह्वात्तै बढेको छ । जसले भारतीय पर्यटकको चाप बढेको छ भने पोखराका होटलहरु लो सिजनमा पनि भरिभराउ भइरहेका छन् । आफूहरु यहि बढ्दो आकर्षणलाई निरन्तरता दिई पोखराको पर्यटनमा नया आयाम थप्ने कोलकत्ता पुगेको महासचिव चेतन कार्कीले बताए । हामी अवसर देखेरै कोलकत्ता पुगेका हौं,उनले भने,‘यसले सहकार्यको ढोका खोलेको छ र पोखरामा भारतीय पर्यटकको आगमनमा महत्वपूर्ण योगदान दिनेछ ।’

नाट्टा गण्डकीको बी–टु–बी (बिजनेस टु बिजनेस) कार्यक्रममा भारतीय टूर अपरेटर्स वेलफेयर एसोसिएसन, इन्डियन एसोसिएसन अफ टुर अपरेटर्स, ट्राभल एजेन्ट्स एसोसिएसन अफ बंगाल, एसोसिएसन अफ बुद्धिस्ट टुर अपरेटर्स तथा एसोसिएसन अफ टुरिजम सर्भिस प्रोभाइडर्स अफ बंगालका प्रतिनिधिहरूको सहभागिता रहेको उपाध्यक्ष राजेश पहारीले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।