जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा १४ स्वर्णसहित सहिद स्मृति आवासीय स्कुल च्याम्पियन


     एभरेस्ट आवाज    
     असार १ गते २०८३ मा प्रकाशित




पोखरा — कास्की जिल्ला स्तरीय जुनियर तेक्वान्दो प्रतियोगितामा सहिद स्मृति आवासीय स्कुल च्याम्पियन बनेको छ। कास्की जिल्ला तेक्वान्दो संघको आयोजनामा पोखरामा सम्पन्न दुई दिने प्रतियोगितामा सहिद स्मृतिले १४ स्वर्ण, ३ रजत र २ कांस्य पदक जित्दै उपाधि हात पारेको हो।
प्रतियोगितामा एब्सोलुट तेक्वान्दो डोजाङ दोस्रो भएको छ। उसले ४ स्वर्ण, ३ रजत र १ कांस्य पदक जितेको आयोजकले जनाएको छ। हिमालयन टाइगर तेक्वान्दो डोजाङ २ स्वर्ण, ३ रजत र २ कांस्य पदकसहित तेस्रो स्थानमा रह्यो।
प्रतियोगितामा विभिन्न तौल समूहका खेलाडीबीच प्रतिस्पर्धा भएको थियो। उत्कृष्ट फाइटरतर्फ महिला ३५ केजीमुनि समूहमा श्री सहिद स्मृति आवासीय तेक्वान्दो स्कुलकी निशा बि.क उत्कृष्ट घोषित भइन्। पुरुष ४८ केजीमुनि समूहमा हिमालयन टाइगर तेक्वान्दो डोजाङका साहस बुढा मगर उत्कृष्ट प्रतियोगी चुनिए।
कास्की जिल्ला तेक्वान्दो संघका अध्यक्ष कुमार गुरुङले प्रतियोगिताले जिल्लामा तेक्वान्दो खेलको विकास र नयाँ प्रतिभाको पहिचानमा सहयोग पुगेको बताए।
प्रतियोगितामा जिल्लाका ४२ डोजाङ तथा विद्यालयका ४२६ खेलाडी सहभागी भएका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।