पश्चिमाञ्चल स्वास्थ्य सहकारीको २४औँ स्थापना दिवसमा रक्तदान कार्यक्रम, ७२ युनिट रगत सङ्कलन


     एभरेस्ट आवाज    
     असार २ गते २०८३ मा प्रकाशित




पोखरा । पश्चिमाञ्चल स्वास्थ्य सहकारी संस्था लिमिटेडको २४औँ स्थापना दिवसको शुभ अवसरमा पृथ्वीचोकस्थित पुरानो ट्राफिक कार्यालय अगाडि आयोजित खुला रक्तदान कार्यक्रममा ७२ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी, कास्की अन्तर्गत प्रादेशिक रक्तसञ्चार सेवाको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रमले मानवीय सेवामा महत्वपूर्ण योगदान पुर्‍याउनुभएको छ।

कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष हरिप्रसाद पाण्डेयले गर्नुभएको थियो भने आकस्मिक रक्तदान युनिटका व्यवस्थापक हरिशचन्द्र शर्मा विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा ९२ पटक रक्तदान गरिसक्नुभएका अग्रणी रक्तदाता जितेन्द्रमान साक्य, आकस्मिक रक्तदान युनिटका संयोजक नेत्र ढकाल, पृथ्वी होटल व्यवसायी समितिका अध्यक्ष मोतीप्रसाद श्रेष्ठ, गुल्मी–पोखरा सम्पर्क समाजका अध्यक्ष तथा कार्यक्रमका प्रथम रक्तदाता कमल न्यौपाने लगायतका विशिष्ट व्यक्तित्वहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। साथै विभिन्न सामाजिक, व्यावसायिक तथा सहकारी क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको प्रारम्भमा संस्थाका उपाध्यक्ष तथा रक्त सञ्चार प्रमुख अर्जुन ज्ञवालीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। संस्थाका व्यवस्थापक उषा गैरेले सहकारीका सात सिद्धान्त वाचन गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन संस्थाका सहसचिव जीवन भण्डारीले गर्नुभएको थियो।

रगतको अभावका कारण कुनै पनि बिरामीले उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा संस्थाका पदाधिकारी, कार्यसमिति सदस्यहरू, कर्मचारीहरू, शुभेच्छुकहरू तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो। स्थापना दिवसलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै आयोजना गरिएको यस रक्तदान कार्यक्रमले वर्तमान रगत अभाव न्यूनीकरणमा महत्वपूर्ण सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण रक्तदाता, अतिथि, स्वयंसेवक, प्राविधिक टोली, शुभेच्छुक, सञ्चारकर्मी तथा सहभागीहरू प्रति पश्चिमाञ्चल स्वास्थ्य सहकारी संस्था लिमिटेड हार्दिक आभार व्यक्त गर्दछ।

“रक्तदान जीवनदान, जीवनदान महादान” भन्ने मूल भावनालाई आत्मसात् गर्दै आगामी दिनमा पनि यस्ता मानवीय, सामाजिक तथा स्वास्थ्यसम्बन्धी सेवामूलक कार्यक्रमहरूलाई निरन्तरता दिइने संस्थाले जनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।