खेलकुद पत्रकार मञ्चको एआई तालिम सम्पन्न


     एभरेस्ट आवाज    
     असार ६ गते २०८३ मा प्रकाशित




नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीको आयोजनामा पोखरामा शुक्रबारदेखि सुरु भएको ‘डिजिटल खेलकुद पत्रकारितामा एआई’ तालिम सम्पन्न भएको छ ।

सूचना तथा सञ्चार मन्त्रालय सिंहदरबार, काठमाडौंको सहयोगमा भएको तालिममा खेलकुद पत्रकारहरूलाई एआईको सहयोगमा समाचार लेखन, तथ्यांक विश्लेषण, फोटो, अडियो, भिडियो सम्पादन र सामाजिक सञ्जाल व्यवस्थापनमा एआईको भूमिकाबारे व्यवहारिक अभ्यास गराइएको थियो । दुई दिनसम्म चलेको तालिमले पोखराका खेलकुद पत्रकारहरुलाई आधुनिक प्रविधिमा अभ्यस्त बनाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकले विश्वास लिएको छ । तालिम समापनमा नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष माधव रेग्मीले पत्रकारहरु सधैँ नयाँ सिकाइका लागि भोको हुनुपर्ने बताए । उनले प्रविधिमा आएको परिवर्तनलाई आत्मसात् गर्न नसके व्यावसायिक रुपमा पछि परिने भन्दै महासंघले पनि पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि प्रविधिमूलक कार्यक्रमलाई प्राथमिकता दिने स्पष्ट पारे ।

तालिमका मुख्य प्रशिक्षक अजय शर्माले डिजिटल युगमा पत्रकारिताको आयतन बदलिएकाले प्रविधिसँग डराउनुको साटो यसलाई सहायकका रुपमा लिनुपर्ने बताए । एआईका उपकरणहरुले पत्रकारको कामलाई छिटो र गुणस्तरीय बनाउन मद्दत पु¥याउने उनको भनाइ थियो । प्रशिक्षक शर्माले एआईका विभिन्न सफ्टवेयर र एप्लिकेशनहरु प्रयोग गर्दा पत्रकारिताको मौलिकता र नैतिक पक्षलाई भने सधैँ ध्यानमा राख्नुपर्नेमा जोड दिए । तालिममा सहभागी प्रशिक्षार्थी पत्रकार दीपक परियारले तालिममा सिकेका कुराहरू कार्यक्षेत्रमा निकै उपयोगी हुने बताए । उनले खेलकुदका समाचार तयार पार्दा एआईका उपकरण प्रयोग गरेर कसरी समयको बचत र सामग्रीको विविधीकरण गर्न सकिन्छ भन्ने कुरा व्यवहारिक रुपमै सिक्न पाइएको अनुभव सुनाए ।

अर्की प्रशिक्षार्थी पत्रकार रोजी श्रेष्ठले बदलिँदो पत्रकारिताको परिवेशमा यस्तो प्राविधिक तालिमले पत्रकारहरूको आत्मविश्वास बढाएको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राखिन् । नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीका अध्यक्ष एमबी आस्थामगरको अध्यक्षतामा भएको समापन कार्यक्रमको सञ्चालन महासचिव पर्शुराम शर्माले गरेका थिए । २ दिनसम्म सञ्चालन भएको तालिममा ६५ खेल पत्रकार सहभागी थिए । उनीहरुलाई पत्रकार अजय शर्मा र सहारा क्लब पोखराका पूर्वअध्यक्ष विक्रम थकालीलगायतले प्रशिक्षण दिएका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।