२१ औं संस्करणको रोपाइँ महोत्सव, असार १४ मा शिशुवामा गरिने


     एभरेस्ट आवाज    
     असार १० गते २०८३ मा प्रकाशित




२१ औं संस्करणको असारे रोपाइँ महोत्सव लेखनाथको शिशुवामा हुने भएको छ ।

पोखरालाई वर्षभरि नै पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित पोखरा पर्यटन परिषद्ले यस बर्षको महोत्सव शिशुवामा आयोजना गर्न लागेको हो । परिषद्ले बुधबार शिशुवामा पत्रकार सम्मेलन आयोजना गरी महोत्सवका बारेमा जानकारी दिएको छ । ‘पोखरा सबै मौसमका लागि‘ भन्ने मूल नाराका साथ विगत दुई दशकदेखि सञ्चालन हुँदै आएको महोत्सव यस वर्ष पोखरा महानगरपालिका–३० स्थित लेखनाथ शिशुवा देउराली खोलाछेउमा आयोजना गर्न लागिएको अध्यक्ष तारानाथ पहारीले जानकारी दिए । असार १५ गतेपूर्णिमा तिथि परेको र उक्त दिन परम्परा अनुसार हल गोरु बार्ने प्रचलन रहेकाले महोत्सव असार १४ गते आयोजना गर्न लागिएको परिषद्ले जनाएको छ।

परिषद्का अनुसार तीव्र शहरीकरणका कारण लोपोन्मुख बन्दै गएको परम्परागत धान खेती प्रणालीको संरक्षण, कृषिप्रति युवापुस्तालाई आकर्षित गर्ने तथा कृषि पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवलाई निरन्तरता दिइएको हो। पोखरा तथा गण्डकी प्रदेशमा आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धन गर्दै ‘पोखरा भ्रमण वर्ष’लाई सफल बनाउनु महोत्सवको मुख्य उद्देश्य रहेको परिषदका अध्यक्ष पहारीले जानकारी दिए । साथै, पर्यटकलाई नेपाली परम्परागत कृषि प्रणालीसँग प्रत्यक्ष साक्षात्कार गराउने, नयाँ पुस्तालाई मौलिक कृषि संस्कृतिबारे जानकारी गराउने तथा पोखरालाई सबै मौसममा घुम्न सकिने गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य लिइएको उनले बताए ।एक दिने महोत्सवमा साउने प्रतियोगिता ,असारे भाका सहित रोपाइँ प्रतियोगिता, हिलोमा माछा समात्ने प्रतियोगिता, विदेशी तथा स्वदेशी महिला–पुरुष हिलो दौड प्रतियोगिता, पत्रकार खुला हिलो दौड तथा पुरुष–महिला रस्साकस्सी प्रतियोगिता सञ्चालन गरिने महोत्सवका संयोजक जीवनराज सापकोटाले जानकारी दिए । सोही अवसरमा उत्कृष्ट कृषकलाई सम्मानसमेत गरिने बताईएको छ ।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त कलाकारहरू राजु परियार, शिवहरी ढुंगाना, जीवन दाहाल, मधु थापा मगर र तुलसा जिसीलगायतको सांगीतिक प्रस्तुति रहने परिषद्ले जनाएको छ। महोत्सवको मुख्य आयोजक पोखरा पर्यटन परिषद् र स्थानीय आयोजकका रूपमा वडा स्तरीय कृषि सञ्जाल पोखरा–३० रहेको छ। परिषद्का महासचिव जीवनराम सापकोटाको संयोजकत्वमा गठित समिति र बिभिन्न उपसमितिले तयारीलाई तीब्र पारेको जनाईएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।