पोखरा महोत्सव पोखरा ३० देउरालीखोला किनारमा : तयारी अन्तिम चरणमा


     एभरेस्ट आवाज    
     असार १० गते २०८३ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, असार १०

पोखरामा असार १४ गते रोपाईं महोत्सव हुने भएको छ । पोखरा पर्यटन परिषदले हरेक वर्ष आयोजना गर्दै आएको असारे रोपाईं महोत्सवको २१ औं संस्करण यहि असार १४ गते हुने भएको हो । पोखरा–३० देउराली खोला किनारमा हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजक पोखरा पर्यटन परिषदले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।

‘पोखरा सबै मौसमका लागि’ भन्ने नारासहित हुने महोत्सव यसअघिका वर्षहरुमा राष्ट्रिय धान दिवसको अवसर पारेर असार १५ गते आयोजना गरिने गरिएको थियो । तर यस वर्ष असार १५ गते पूर्णिमा परेकाले असार १४ गते रोपाईं महोत्सव आयोजना गर्न लागिएको आयोजक पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले बताए । हिन्दू परम्परामा पूर्णिमाको दिन हलगोरु ननार्ने (नजोत्ने) भन्ने चलन छ,उनले भने,‘त्यहि भएर यस वर्ष अघिल्लो दिन गर्दैछौं ।’

वडास्तरीय कृषि सञ्जाल पोखरा–३० को सहआयोजना, नेपाल पर्यटन वोर्ड र पोखरा महानगरपालिकासँगको सहकार्यमा हुने महोत्सवको उद्देश्य कृषि, पर्यटन र स्थानीय संस्कृतिको प्रवद्र्धन गर्ने रहेको महासचिव जीवनराज सापकोटाले बताए । तीव्र शहरीकरणका कारण लोपोन्मुख बन्दै गएको परम्परागत धान खेती प्रणालीको संरक्षण गर्नु नै प्रमुख उद्देश्य हो,उनले भने,‘जमिन बाँझो नराख्न प्रेरित गर्नुका साथै कृषिप्रति युवापुस्तालाई आकर्षित गर्ने तथा कृषि पर्यटनको प्रवद्र्धन गर्न पनि सघाउँछ भन्ने विश्वासमा नियमित रोपाईं महोत्सव आयोजना गर्दै आएका छौं ।’ महोत्सवले कृषि पर्यटनमार्फत अर्थतन्त्र चलायमान गराउने अपेक्षा गरिएको उनले बताए । उनले वर्षमा एक पटक हिलोमा टेक्ने सस्ंकृतिको संरक्षणमा टेवासमेत पुग्ने बताउँदै भने,‘कृषकलाई सम्मान तथा ‘हिलोमा एक पटक, देशको माया सय पटक’ भन्ने मान्यतालाई जीवन्त बनाउन पनि यसले काम गरेको छ भन्ने हाम्रो विश्वास छ ।’

महोत्सवमा साउने प्रतियोगिता (हल गोरु दौड), असारे भाकासहित रोपाइँ प्रतियोगिता, हिलोमा माछा समात्ने प्रतियोगिता, विदेशी तथा स्वदेशी महिला–पुरुष हिलो दौड प्रतियोगिता, पत्रकार खुला हिलो दौड तथा पुरुष–महिला रस्साकस्सी प्रतियोगिता आयोजना गरिने महासचिव सापकोटाले जानकारी दिए । सो अवसरमा एक उत्कृष्ट कृषकलाई सम्मानसमेत गरिने उनले बताए ।

रोपाईं महोत्सवमा स्वदेशी तथा विदेशी पर्यटकको घुईंचो लाग्ने आयोजकको अपेक्षा छ । पोखरा आएका विदेशी पर्यटक तथा छिमेकी भारतबाट आएका पर्यटकलाईसमेत महोत्सवमा सहभागी गराईने परिषदले जनाएको छ । अध्यक्ष तारानाथ पहारीले भने,‘रोपाईं महोत्सवकै लागि भनेर विदेशबाट आउने पर्यटक पनि छन्, आएका पर्यटकलाई पनि सहभागी गराउँछौं, विशेष गरेर भारतीय पर्यटकलाई महोत्सवमा सहभागी गराउन भारतीय ट्राभल एजेन्सीमार्फत विशेष पहल पनि गरेका छौं ।’

पत्रकार सम्मेलनमा पोखरा–३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीले रोपाइँ महोत्सवले कृषि पर्यटनमा सेतुको काम गर्ने बताए । उनले भने,‘यसले सात तालको वाटिका सहरको ब्राण्डिङमा सघाउँछ ।’

पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले कृषि खेतीप्रति आकर्षण जगाउन महोत्सव कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । ‘कृषि पेशाप्रति सम्मानभाव जगाउन र यसको महत्व दर्शाउन महोत्सव सफल छ‘–उनले भने ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका वरिष्ठ अधिकृत युवराज गुरुङ, नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुली तथा कृषि सञ्जाल पोखरा–३० का संयोजक बाबुराम ढकाललगायतले महोत्सवले लेखनाथसहित समग्र पोखराको पर्यटनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।